धनकुटा :-तिहार भन्नेबित्तिकै झिलिमिली बत्ती, सयपत्री फूल र देउसी–भैलोका परम्परागत भाका स्मरणमा आउँछन्। तर पछिल्लो समय आधुनिकताको प्रभावसँगै नेपाली मौलिक संस्कृतिसँग जोडिएको देउसी–भैलोको परम्परागत शैली हराउँदै जान थालेको छ।

पहिले मादल, खैँजडी र बाँसुरीको तालमा मौलिक गीत गाउँदै घरघर पुग्ने देउसी–भैलो टोली अहिले साउन्ड सिस्टममा बज्ने आधुनिक गीतमा नाच्ने प्रवृत्तितर्फ आकर्षित हुन थालेका छन्। हिन्दी गीत, पप तथा र्याप संगीतको प्रयोग बढ्दा परम्परागत भाका र लोकनृत्य ओझेलमा पर्दै गएका छन्।
कुनै समय देउसी–भैलोमा सोरठी, पैसेरी, मयुर र मारुनीजस्ता लोकनृत्य मुख्य आकर्षण हुन्थे। स्थानीय भेषभूषा, मौलिक बाजागाजा र सामाजिक सन्देश बोकेका गीतले गाउँबस्तीमा सांस्कृतिक रौनक थप्थे। तर अहिले यस्ता प्रस्तुति कमै देख्न पाइन्छन्।

पत्रकार रमेश चन्द्र अधिकारीका अनुसार पछिल्लो समय देउसी–भैलोमा मौलिकता र सांस्कृतिक पक्षभन्दा आधुनिक शैली तथा दक्षिणा संकलनलाई बढी प्राथमिकता दिन थालिएको छ।
दक्षिणा संकलन आफैँमा गलत नभए पनि सांस्कृतिक पहिचानलाई बिर्सेर आर्थिक पक्षलाई मात्र महत्व दिनु उचित नभएको धनकुटाका स्थानीय ऋषिराम ढुंगानाको भनाइ छ। संस्कृतिसँग जोडिएको परम्परालाई आर्थिक संकलनको माध्यमका रूपमा मात्र बुझ्दा यसको मौलिक महत्व कमजोर हुँदै जाने उनले बताए।
प्रविधि र देखासिकीको प्रभाव
सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र डिजिटल माध्यममा उपलब्ध आधुनिक गीतसंगीतले नयाँ पुस्ताको रुचि प्रभावित गरेको छ। अन्यत्र देखिएका प्रस्तुति नक्कल गर्ने प्रवृत्तिले स्थानीय मौलिक शैली ओझेलमा परेको छ।
आधुनिक गीतमा नाच्नु वा नयाँ प्रविधि प्रयोग गर्नु समस्या नभई त्यस क्रममा मौलिक संस्कृति बिर्सनु मुख्य चुनौती रहेको देखिन्छ। प्रविधिकै माध्यमबाट परम्परागत गीत, भाका र नृत्यलाई नयाँ पुस्तामाझ लोकप्रिय बनाउन सकिने सम्भावना पनि छ।
पुस्तान्तरण नहुँदा लोकसंस्कृतिमा संकट
पहिले बालबालिकाले बूढापाकाबाट देउसी–भैलोका गीत सिक्ने, युवायुवतीले बाजा बजाउन र नाच्न सिक्ने चलन थियो। तर अहिले यस्तो अभ्यास घट्दै गएको छ।
नयाँ पुस्तालाई मौलिक देउसी–भैलोको महत्व, इतिहास र सांस्कृतिक पक्षबारे जानकारी गराउन आवश्यक रहेको धनकुटा नगरपालिकामा कार्यरत उपेन्द्र खनालले बताए। पुरानो पुस्तासँग रहेको ज्ञान र अनुभव अभिलेखीकरण गर्दै स्थानीय लोकगीत तथा नृत्य संरक्षण गर्नुपर्ने उनको भनाइ छ।
खनालले मौलिक देउसी–भैलोको मर्म जोगाउन स्थानीय समुदायसँगै तीनै तहका सरकार, अभिभावक र युवापुस्ताको सक्रियता आवश्यक रहेको बताए।
संरक्षणमा युवापुस्ताको भूमिका महत्वपूर्ण
मौलिक देउसी–भैलो संरक्षणका लागि युवापुस्ताको सक्रियता आवश्यक रहेको नागरिक समाज धनकुटाका अध्यक्ष दोर्णप्रसाद गुरागाईंले बताए।
स्थानीय तह, विद्यालय, युवा क्लब तथा सांस्कृतिक संस्थाले मौलिक देउसी–भैलो प्रतियोगिता आयोजना गर्नुपर्ने उनको सुझाव छ। परम्परागत गीत, नृत्य, बाजागाजा र भेषभूषालाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्न सके नयाँ पुस्तामा लोकसंस्कृतिप्रति आकर्षण बढ्ने उनले बताए।
गुरागाईंले पुराना लोकगीत, भाका र नृत्यको श्रव्यदृश्य अभिलेख तयार पारेर भावी पुस्ताका लागि सुरक्षित राख्नुपर्नेमा जोड दिए। स्थानीय कलाकार तथा संस्कृतिसम्बन्धी जानकारलाई सहभागी गराएर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुका साथै विद्यालय तहदेखि नै स्थानीय संस्कृति र परम्पराको महत्व सिकाउनुपर्ने उनको भनाइ छ।
आधुनिकता र परम्परालाई एकअर्काको प्रतिस्पर्धी नभई परिपूरक बनाएर अघि बढाउन सके देउसी–भैलोको मौलिकता जोगाउँदै नयाँ पुस्तामाझ यसको आकर्षण कायम राख्न सकिने देखिन्छ।


