बुटवल :- तिहारको मौलिक संस्कृति संरक्षण र पुस्तान्तरणसँगै सामाजिक सेवामा योगदान पुर्याउने उद्देश्यले बुटवलको रुद्रगण धार्मिक संस्थाले देउसी–भैलो अभियान सञ्चालन गरेको छ।

संस्थाले यस वर्ष देउसी–भैलोबाट संकलित रकम गौसेवा तथा विपन्न विद्यार्थीको शिक्षामा खर्च गर्ने जनाएको छ। संकलित रकम गाईहरूको आहारा र स्याहारसुसारका साथै आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको शैक्षिक विकासमा उपयोग गरिने संस्थाले जनाएको हो।
तिहारको औँसीदेखि एकादशीसम्म सञ्चालन हुने अभियानअन्तर्गत बुटवलको कालिकानगरस्थित रिफ्रेस क्याफे अगाडि देउसी–भैलो कार्यक्रम गरिएको थियो।

संस्थाका देउसी–भैलो संयोजक सन्तोष भण्डारीका अनुसार मणिग्राम चोकमा पनि कार्यक्रम आयोजना गरिनेछ। त्यस्तै, आगामी मंसिर ४ गते एकादशीका दिन बुटवलको देवीनगर चौपारीमा देउसी–भैलो खेलिनेछ।
संस्थाले सांस्कृतिक संरक्षणसँगै सामाजिक सेवाका अन्य गतिविधिलाई पनि निरन्तरता दिँदै आएको छ। रुपन्देहीका विभिन्न पाँच स्थानमा आयोजित बृहत् रक्तदान कार्यक्रमबाट २५७ पिन्ट रगत संकलन भएको संस्थाले जनाएको छ।
देउसी–भैलोलाई मनोरञ्जन र परम्परामा मात्र सीमित नराखी मानवीय सेवासँग जोड्ने रुद्रगणको यो अभियानले संस्कृति संरक्षण र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउने सन्देश दिएको छ।


