काठमाडौं :- सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको संख्या ३२ लाख नाघेको छ। कोषका अनुसार गत असोज मसान्तसम्म ३२ लाख ४३ हजार ७०१ जना योगदानकर्ताबाट १ खर्ब २९ अर्ब ६४ करोड रुपैयाँ सङ्कलन भएको छ।

कोषमा आबद्ध योगदानकर्तामध्ये सबैभन्दा ठूलो हिस्सा वैदेशिक रोजगारी क्षेत्रको रहेको छ। यस क्षेत्रबाट मात्रै २४ लाख ५० हजार ९५८ जना आबद्ध भएका छन्, जुन कुल योगदानकर्ताको झन्डै ७५ प्रतिशत हो।
त्यस्तै, औपचारिक क्षेत्रबाट ७ लाख ९० हजार ८३ जना, स्वरोजगार क्षेत्रबाट १ हजार ४९२ जना र अनौपचारिक क्षेत्रबाट १ हजार १६८ जना कोषमा जोडिएका छन्।

औपचारिक क्षेत्रअन्तर्गत देशभरका २३ हजार ८०७ रोजगारदाता संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध छन्।
कोषले योगदानकर्ताका लागि औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्ध अवस्था सुरक्षा गरी विभिन्न चार योजनामार्फत सुविधा उपलब्ध गराउँदै आएको छ।
कोषका अनुसार हालसम्म विभिन्न शीर्षकमा २२ अर्ब ९० करोड रुपैयाँ दाबी भुक्तानी भइसकेको छ। योगदानकर्ताको संख्या र संकलित रकम बढ्दै जाँदा सामाजिक सुरक्षा प्रणालीको दायरा पनि विस्तार हुँदै गएको देखिन्छ।


