बुटवल :-भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको राहत र पुनःस्थापनाका लागि क्रिमसन कलेज अफ टेक्नोलोजी प्रा.लि. र क्रिमसन अस्पतालले संयुक्त रूपमा ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेका छन्।

रसुवागढी क्षेत्रका बाढीपीडित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको क्रिमसन कलेज अफ टेक्नोलोजीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए।
सहयोग रकम जुटाउने क्रममा कलेज तथा अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीले एक दिनको तलब प्रदान गरेका छन्। त्यस्तै, यस वर्ष तीजको दर खाने कार्यक्रमका लागि छुट्याइएको रकमसमेत बाढीपीडितका लागि प्रदान गरिएको छ। त्यसमा संस्थाका तर्फबाट थप रकम जोडेर कुल ७ लाख ७७ हजार ७७७ रुपैयाँ राहत कोषमा जम्मा गरिएको हो।

विपद्को समयमा उत्सवमा हुने खर्चलाई कटौती गर्दै पीडित नागरिकको राहतमा प्रयोग गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ।
भोटेकोशी तथा त्रिशूलीको बाढीले धेरै परिवारलाई विस्थापित बनाएको र उनीहरूको दैनिकी प्रभावित भएको अवस्थामा राहतसँगै पुनःस्थापनाका लागि पनि सहयोग आवश्यक रहेको अध्यक्ष पाण्डेयले बताए।
क्रिमसन कलेज अफ टेक्नोलोजीअन्तर्गत बुटवल–११, देवीनगरमा क्रिमसन कलेज तथा तिलोत्तमा–५, मणिग्राममा क्रिमसन अस्पताल सञ्चालनमा छन्।
चिकित्सक–कर्मचारीको एक दिनको तलब, तीजको दर खाने कार्यक्रमको खर्च र संस्थाको थप योगदान जोडेर गरिएको यो सहयोगले विपद्को घडीमा उत्सवभन्दा मानवीय सेवालाई प्राथमिकता दिन सकिन्छ भन्ने सन्देशसमेत दिएको छ।

