भैरहवा :-रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित बिरामीका लागि रगतको आवश्यकता बढ्दै गएपछि मारवाडी युवा मञ्च भैरहवा, रुपन्देहीले आइतबार आपतकालीन रक्तदान कार्यक्रम आयोजना गरेको छ। मानवीय संकटका बेला रगतको अभाव हुन नदिन गरिएको कार्यक्रममा ७० युनिट रगत संकलन भएको छ।

मञ्चका अध्यक्ष रोहितकुमार अग्रवालका अनुसार बाढीबाट प्रभावित तथा उपचाररत बिरामीलाई रगतको आवश्यकता बढिरहेको अवस्थालाई मध्यनजर गर्दै तत्काल रक्तदान कार्यक्रम आयोजना गरिएको हो। विपद्का बेला आवश्यक सहयोगका विभिन्न स्वरूपमध्ये रक्तदान प्रत्यक्ष रूपमा जीवन बचाउने महत्वपूर्ण माध्यम भएकाले मञ्चले अभियान सञ्चालन गरेको उनले बताए।
नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीको प्राविधिक सहयोगमा भैरहवास्थित मारवाडी सेवा संघमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। मञ्चका महासचिव मोहित सेठियाका अनुसार कार्यक्रममा रक्तदाताको उत्साहजनक सहभागिता रह्यो र कुल ७० युनिट रगत संकलन गर्न सफल भएको छ।

कार्यक्रमका प्रमुख अतिथि मारवाडी सेवा संघका अध्यक्ष श्रवणकुमार बेरिवालले मानवीय सेवाका लागि रक्तदान अत्यन्त महत्वपूर्ण रहेको बताए। विपद् तथा अन्य आकस्मिक अवस्थामा रगतको अभाव हुन नदिन यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा मारवाडी महिला मञ्चकी अध्यक्ष बेनु अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका अध्यक्ष मनोज अग्रवाल, मारवाडी सेवा संघका उपाध्यक्ष अरुण कागलीवाल, मारवाडी युवा मञ्च भैरहवाका उपाध्यक्ष सौरभ अग्रवाल, कोषाध्यक्ष प्रियांक जैन, सचिव अर्चित बेरिवाल, सदस्यहरू अर्पित अग्रवाल, विकास चौधरी, सोमेश अग्रवाल, सञ्चित अग्रवाल र पावन अग्रवालको उपस्थिति थियो।
त्यस्तै मञ्चका सल्लाहकार मनोजकुमार अग्रवाल, मनोजकुमार सिंघल, सन्दीप अग्रवाल, विनय गोयल तथा मारवाडी सेवा संघका कार्यालय सचिव विनोद मिश्रालगायत पनि कार्यक्रममा सहभागी थिए।
‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने मूल नारासहित आयोजित कार्यक्रम सफल बनाउन साथ दिने रक्तदाता, प्राविधिक टोली तथा सहयोगी सबैप्रति मञ्चले आभार व्यक्त गरेको छ।
रसुवाको पीडा भैरहवाबाट टाढा भए पनि विपद्मा परेका नागरिकप्रतिको मानवीय जिम्मेवारी दूरीले रोक्न सकेन। भैरहवामा जुटेको ७० युनिट रगतले यही सन्देश दिएको छ—विपद्को घडीमा कसैका लागि दिएको एक युनिट रगत पनि जीवन जोगाउने आशा बन्न सक्छ।

