बुटवल :- बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आगामी असोज २१ देखि २३ गतेसम्म आयोजना गर्न लागेको ७३औँ वार्षिक साधारणसभा तथा २६औँ अधिवेशनको तयारी तीव्र बनाएको छ। अधिवेशनलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रूपमा सम्पन्न गर्न संघले विभिन्न १० वटा तयारी समिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको छ।

संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले अधिवेशनका विभिन्न पक्षको व्यवस्थापनका लागि कार्यसमिति सदस्यहरूलाई जिम्मेवारी तोकेको हो। महासचिव मुक्तिप्रसाद अधिकारीका अनुसार प्रस्ताव लेखनको जिम्मेवारी कृष्णप्रसाद पाण्डेलाई दिइएको छ भने किटब्याग व्यवस्थापन तथा रजिस्ट्रेसनको जिम्मेवारी गणेशप्रसाद भट्टराईले सम्हाल्नेछन्।
सदस्यता मत सर्वेक्षणको जिम्मेवारी विष्णु घिमिरे पन्त (कमला), स्वागत तथा सत्कार रेनु श्रेष्ठ, खाना तथा जलपान व्यवस्थापन रामबहादुर भण्डारी, निमन्त्रणा कार्ड व्यवस्थापन दीपक चापागाईं, हल तथा मञ्च व्यवस्थापन उमेश अमात्य र पार्किङ व्यवस्थापनको जिम्मेवारी टिकाराम वञ्जाडेलाई दिइएको छ।

संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कारको मूल्यांकनका लागि पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठलाई जिम्मेवारी दिइएको छ भने उत्कृष्ट उद्योगी–व्यवसायी मूल्यांकनको संयोजकमा पूर्वअध्यक्ष खिमबहादुर हमाललाई तोकिएको छ।
अधिवेशनसँगै नयाँ नेतृत्व चयनको प्रक्रियालाई निष्पक्ष र व्यवस्थित बनाउन निर्वाचनसम्बन्धी जिम्मेवारीसमेत तय गरिएको छ। संघका कानुनी परामर्शदाता अधिवक्ता बाबुराम पाण्डेलाई प्रमुख निर्वाचन अधिकृत नियुक्त गरिएको छ। अधिवक्ता माधव घिमिरे र गोविन्द मरासिनी निर्वाचन अधिकृत नियुक्त भएका छन्।
बैठकले नेपाल उद्योग वाणिज्य महासंघका विभिन्न समितिमा मनोनयन भएका संघका पदाधिकारी तथा सदस्यलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको छ। स्वास्थ्य समितिमा उद्योग उपाध्यक्ष सुरज भट्टराई, सहरी विकास समितिमा महासचिव मुक्तिप्रसाद अधिकारी र महिला उद्यमी समितिमा कार्यसमिति सदस्य सुनिता शर्मा वञ्जाडे मनोनयन भएका छन्। त्यस्तै नेपाल–भारत व्यापार मण्डलको सचिवमा कार्यसमिति सदस्य दीपक घिमिरे मनोनित भएका छन्।
संघको बैठक अधिवेशनको तयारीमा मात्रै सीमित रहेन। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउन नेपाल उद्योग वाणिज्य महासंघमार्फत प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग उपलब्ध गराउने निर्णयसमेत गरिएको छ।
बाढीमा ज्यान गुमाएकाहरूको सम्झना तथा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सोमबार साँझ संघ परिसरमा दीप प्रज्ज्वलन गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकमा संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य हरिप्रसाद अर्यालले ७३औँ वार्षिक साधारणसभा तथा २६औँ अधिवेशनलाई सभ्य, भव्य र मर्यादित बनाउन सबैलाई आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न आग्रह गरे। अधिवेशनलाई निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न आफूले पनि जिम्मेवार भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता जनाए।
संघका निवर्तमान अध्यक्ष तथा महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले संस्था बलियो र गरिमामय बन्दा त्यसमा आबद्ध सदस्यको गरिमा र क्षमता पनि बढ्ने उल्लेख गर्दै संघको संस्थागत प्रतिष्ठालाई थप उचाइमा पुर्याउने गरी काम गर्न आग्रह गरे।
बैठकमा वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल, सचिव प्रतीक पोखरेल तथा सहकोषाध्यक्ष धनकला खनालले समसामयिक विषयमा आ–आफ्ना धारणा राखेका थिए।
सात दशकभन्दा लामो संस्थागत यात्रामा रहेको बुटवल उद्योग वाणिज्य संघ अब अर्को अधिवेशनको संघारमा पुगेको छ। अधिवेशन केवल नयाँ नेतृत्व चयनको प्रक्रिया मात्र नभई बुटवलको उद्योग–व्यवसाय क्षेत्रलाई आगामी दिनमा कुन दिशामा लैजाने भन्ने बहस र योजना निर्माणको अवसरसमेत बन्ने अपेक्षा गरिएको छ।

