काठमाडौँ । विपद् आफैंमा पीडा र त्रासको अवस्था हो। यस्तो बेला समाचारका नाममा पीडितको दुःखलाई थप पीडादायी बनाउने तस्बिर, भिडियो वा अपुष्ट सूचना फैलिन नदिन प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमलाई सचेत गराएको छ।

काउन्सिलले भदौ १९ गते ‘विपद्का बेला सकारात्मक, मानवीय तथा जिम्मेवार सञ्चारसम्बन्धी सम्पादकीय निर्देशिका, २०८३’ जारी गर्दै विपद्सम्बन्धी समाचार सम्प्रेषण गर्दा सही, पुष्टि भएका र नागरिकको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने सूचनालाई प्राथमिकता दिन आग्रह गरेको हो।
निर्देशिकाअनुसार मृत्यु, घाइते, बेपत्ता, क्षति, जोखिम क्षेत्र तथा उद्धारसम्बन्धी विवरण आधिकारिक वा विश्वसनीय स्रोतबाट पुष्टि भएपछि मात्रै प्रकाशन तथा प्रसारण गर्नुपर्नेछ। विपद्का बेला सामाजिक सञ्जालमा छिटो फैलिने अपुष्ट विवरणलाई समाचार बनाउँदा थप भ्रम र त्रास सिर्जना हुन सक्ने भएकाले सञ्चारमाध्यमलाई तथ्य प्रमाणीकरणमा विशेष सावधानी अपनाउन भनिएको छ।


काउन्सिलले क्षतविक्षत शव, शरीरका अंग देखिने दृश्य, अत्यधिक रक्ताम्मे तस्बिर, मृतकको अनुहार तथा गम्भीर घाइते व्यक्तिको पीडादायी ‘क्लोजअप’ सामान्यतः प्रकाशन वा प्रसारण नगर्न आग्रह गरेको छ।
त्यस्तै शोकमा रहेका परिवार, पीडित तथा बालबालिकाको गोपनीयता र सम्मानलाई प्राथमिकतामा राख्न भनिएको छ। संवेदनशील दृश्य प्रयोग गर्नैपर्ने सम्पादकीय आवश्यकता भए पहिचान खुल्न नदिने, दृश्य सीमित गर्ने तथा आवश्यक पूर्वसूचना दिने व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।
यो सावधानी समाचार वेबसाइट वा टेलिभिजनमा मात्रै सीमित छैन। फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम र एक्सलगायत डिजिटल प्लेटफर्ममा राखिने थम्बनेल, कभर तथा अटोप्ले प्रिभ्युमा समेत बीभत्स दृश्य प्रयोग नगर्न काउन्सिलले आग्रह गरेको छ।
विपद्का बेला कुन ठाउँ जोखिममा छ, कहाँ सुरक्षित जान सकिन्छ, उद्धारका लागि कहाँ सम्पर्क गर्ने, राहत तथा स्वास्थ्य सेवा कहाँ उपलब्ध छ र पूर्वचेतावनी के छ भन्नेजस्ता जीवन जोगाउन सहयोग पुग्ने सूचनालाई समाचारमा प्राथमिकता दिनुपर्ने काउन्सिलको जोड छ।
एआई तथा सामाजिक सञ्जालबाट प्राप्त तस्बिर, भिडियो र अन्य सामग्री प्रयोग गर्दा पनि त्यसको वास्तविकता र स्रोत पुष्टि गरेर मात्रै सम्प्रेषण गर्न काउन्सिलले सञ्चारमाध्यमलाई सचेत गराएको छ।
विपद्को समाचारमा छिटो हुनु महत्वपूर्ण हुन्छ, तर त्योभन्दा महत्वपूर्ण सही, संवेदनशील र जिम्मेवार हुनु हो। पीडितको पीडालाई सनसनी बनाउनेभन्दा उनीहरूको सम्मान जोगाउँदै नागरिकसम्म जीवनोपयोगी सूचना पुर्याउनु नै विपद्का बेला पत्रकारिताको महत्वपूर्ण जिम्मेवारी भएको काउन्सिलको निर्देशिकाले स्मरण गराएको छ।

