काठमाडौं :- कुनै समय पार्टीको विचार, दर्शन र नीति कार्यकर्तासम्म पुर्याउन छापिने मुखपत्रको स्वरूप बदलिँदै गएको छ। पत्रिका, रेडियो र टेलिभिजन हुँदै राजनीतिक सञ्चार अहिले सामाजिक सञ्जालमा केन्द्रित भइरहेका बेला सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फेसबुकमार्फत नियमित सामग्री प्रसारण गर्न थालेपछि पुरानो ‘पार्टी मुखपत्र’को बहस फेरि सतहमा आएको छ।

रास्वपाले पछिल्ला तीन दिनदेखि आफ्नो आधिकारिक फेसबुक पेजमार्फत अबेर साँझ सूचना तथा समाचार शैलीका सामग्री प्रसारण गर्दै आएको छ। रास्वपा सांसद तथा पूर्वसञ्चारकर्मी रिमा विश्वकर्माले प्रस्तुत गर्दै आएको उक्त सामग्रीलाई लिएर सामाजिक सञ्जालमा समर्थन र आलोचना दुवै देखिएका छन्।
रास्वपाले भने यसलाई ‘न्युज बुलेटिन’ नभई सरकारका कामबारे सूचना प्रवाह गर्ने माध्यमका रूपमा व्याख्या गरेको छ। विशेषगरी भदौ १० गतेको विनाशकारी बाढीपछि उद्धार, राहत र पुनर्स्थापनामा सरकारले गरेका काम तथा गतिविधिबारे आफ्ना सदस्य, शुभेच्छुक र सर्वसाधारणलाई जानकारी दिन सामग्री प्रसारण गरिएको पार्टीको भनाइ छ।

रास्वपाले प्रसारण सामग्री तयार गर्न छुट्टै टोलीसमेत बनाएको जनाएको छ। पार्टीका संगठन विभाग प्रमुख प्रमोद न्यौपानेका अनुसार रास्वपा नेतृत्वको सरकारले गरेका काम तथ्यसहित जनस्तरसम्म पुर्याउनु पार्टीको स्वाभाविक जिम्मेवारी हो। देश–विदेशमा रहेका पार्टी सदस्य तथा शुभेच्छुकलाई एकैपटक जानकारी गराउन डिजिटल माध्यम प्रयोग गरिएको उनको तर्क छ।
पार्टीले उपलब्ध गराएको विवरणअनुसार पहिलो दिन प्रसारित सामग्री करिब १३ लाख पटक हेरिएको छ। दोस्रो दिनको सामग्रीले १२ लाख तथा आइतबार साँझसम्म तेस्रो दिनको सामग्रीले ६ लाख २७ हजार हाराहारी भ्यु पाएको उल्लेख गरिएको छ। प्रसारणको अवधि भने क्रमशः घटाइएको छ। पहिलो दिन ५ मिनेट २५ सेकेन्ड रहेको सामग्री दोस्रो दिन ३ मिनेट ५५ सेकेन्ड र तेस्रो दिन २ मिनेट ५४ सेकेन्डमा सीमित गरिएको छ।
यही अभ्यासलाई लिएर प्रश्न पनि उठेको छ—सरकारका निर्णय र गतिविधि सरकारी तथा स्वतन्त्र सञ्चारमाध्यमबाट निरन्तर सार्वजनिक भइरहेका बेला सत्तारुढ दललाई छुट्टै समाचार शैलीको प्रसारण किन आवश्यक पर्यो?

आलोचकहरूले सत्तारुढ पार्टी आफैं समाचार उत्पादक र प्रसारकको भूमिकामा आउँदा सरकारको काम र पार्टी प्रचारबीचको सीमा धमिलो हुन सक्ने तर्क गरेका छन्। अझ सांसदजस्तो नीति तथा कानुन निर्माणको जिम्मेवारीमा रहेको व्यक्ति समाचारवाचकको भूमिकामा देखिनुलाई लिएर पनि सामाजिक सञ्जालमा प्रश्न उठाइएको छ।
अर्कोतर्फ रास्वपा समर्थक तथा केही सामाजिक सञ्जाल प्रयोगकर्ताले गलत सूचना र भ्रम तीव्र गतिमा फैलिने डिजिटल युगमा पार्टीले आफ्ना गतिविधि र सरकारका कामबारे प्रत्यक्ष सूचना दिनुलाई सकारात्मक मानेका छन्। उनीहरूको तर्कमा पार्टी स्वयंले आधिकारिक जानकारी दिँदा आफ्ना सदस्य र शुभेच्छुकसम्म सूचना स्पष्ट रूपमा पुग्न सक्छ।
संगठन विभाग प्रमुख न्यौपानेले भने सूचना प्रवाह कसैको मात्रै जिम्मेवारी नभएको बताएका छन्। विपद्का बेला आफ्नै स्रोत, साधन र जनशक्ति प्रयोग गरी भएका प्रयासबारे जानकारी दिन उक्त विधि अपनाइएको र सञ्चारमाध्यमसँग प्रतिस्पर्धा गर्ने उद्देश्य नरहेको उनको स्पष्टीकरण छ।
पार्टी प्रवक्ता जगदीश खरेलले पनि तीन दिनदेखि प्रसारण भइरहेको सामग्रीलाई समाचार बुलेटिन भन्न नमिल्ने बताएका छन्। उनका अनुसार सरकारी कामलाई सूचनाका रूपमा सार्वजनिक गरिएको मात्रै हो र यो अभ्यास लामो समयसम्म चलाउने उद्देश्य छैन।
यद्यपि रास्वपाको केन्द्रीय समितिले असोजदेखि ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णयसमेत गरेको छ। प्रवक्ता खरेलका अनुसार त्यसलाई प्रकाशन गर्ने वा नगर्ने विषय भने अझै विचाराधीन छ। डिजिटल पत्रिकाको निर्णय र अहिलेको सूचना प्रसारणले नेपाली राजनीतिक दलको पुरानो मुखपत्र अभ्यास नयाँ प्रविधि र नयाँ स्वरूपमा फर्किन लागेको हो कि भन्ने बहस जन्माएको छ।
नेपालमा पार्टी मुखपत्रको इतिहास भने लामो छ। राणाशासनविरुद्ध राजनीतिक चेतना फैलाउन हस्तलिखित पर्चा प्रयोग हुने समयदेखि नै दलहरूले सञ्चारलाई राजनीतिक विचार विस्तारको माध्यम बनाएका थिए। नेपाल प्रजा परिषद्ले २० जेठ १९९३ मा हस्तलिखित पर्चा वितरण गरेको इतिहास पाइन्छ।
दुई कांग्रेस एक हुनुअघि नेपाली राष्ट्रिय कांग्रेसले ‘युगवाणी’ र नेपाल प्रजातान्त्रिक कांग्रेसले ‘नेपाल पुकार’ प्रकाशन गरेका थिए। पछि नेपाल पुकार कांग्रेसको मुखपत्रका रूपमा लामो समय प्रकाशित भयो। २०५४ सालपछि बन्द भएको उक्त प्रकाशनलाई २०८० मंसिरदेखि त्रैमासिक रूपमा पुनःप्रकाशन गर्ने निर्णय भए पनि त्यसले निरन्तरता पाउन सकेन।
नेकपा एमालेले पनि मुखपत्र प्रकाशनलाई लामो समय प्राथमिकतामा राख्यो। कम्युनिस्ट आन्दोलनका क्रममा वर्ग संघर्ष र राजनीतिक विचार फैलाउन विभिन्न बुलेटिन तथा प्रकाशन प्रयोग गरिए। ‘नवयुग’ एमालेको प्रमुख मुखपत्रका रूपमा स्थापित भयो। २०१६ सालबाट सुरु भएको नवयुगलाई २०४८ पछि म्यागेजिनका रूपमा प्रकाशन गरिएको थियो। एमाले पक्षधर दृष्टि, बुधबार र छलफलजस्ता साप्ताहिक पत्रिका पनि एक समय प्रभावशाली थिए।
तत्कालीन माओवादीले सशस्त्र द्वन्द्वका समयमा ‘जनादेश’ लगायत प्रकाशनमार्फत आफ्ना राजनीतिक विचार, नीति तथा गतिविधि सार्वजनिक गर्थ्यो। महिमा र जनआह्वानजस्ता साप्ताहिकसँगै रेडियो जनगणतन्त्रसमेत सञ्चालन गरिएको थियो। शान्ति प्रक्रियामा आएपछि जनदिशा, समाचार, संश्लेषण र लालरक्षकजस्ता प्रकाशन पनि माओवादी निकट समूहबाट सञ्चालन भए। अहिले तीमध्ये अधिकांश प्रकाशन बन्द भइसकेका छन्।
समयसँगै सञ्चारको माध्यम फेरियो। छापाबाट रेडियो र टेलिभिजनमा पुगेका पाठक तथा दर्शक अहिले अनलाइन र सामाजिक सञ्जालमा केन्द्रित छन्। त्यससँगै राजनीतिक दलले नागरिकसम्म पुग्ने तरिका पनि बदलिएको छ।
तर माध्यम फेरिए पनि मूल प्रश्न उही छ—राजनीतिक दलले आफ्ना नीति र गतिविधि नागरिकसम्म प्रत्यक्ष पुर्याउनु स्वाभाविक राजनीतिक सञ्चार हो कि समाचारको स्वरूपमा प्रस्तुत हुँदा त्यो पार्टी प्रचारको नयाँ रूप बन्छ? रास्वपाको पछिल्लो अभ्यासले यही पुरानो प्रश्नलाई डिजिटल युगमा फेरि बहसको केन्द्रमा ल्याइदिएको छ।

