काठमाडौं :- संघीय संसद्को प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रियालाई लिएर संसद्मा विवाद चर्किएको छ। विपक्षी दलहरूको असहमतिका बाबजुद सभामुख डोलप्रसाद अर्यालले नियमावलीलाई अघि बढाउने प्रक्रिया जारी राखेका छन्।

नियमावलीका केही व्यवस्थामाथि गम्भीर आपत्ति जनाउँदै विपक्षी दलहरूले मस्यौदालाई पुनः समितिमा पठाएर थप छलफल गर्नुपर्ने माग गरेका थिए। तर उक्त माग अस्वीकार गर्दै सभामुखले संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्ने प्रक्रिया अघि बढाएका हुन्।

विवादको मुख्य केन्द्र नियमावलीको नियम २५९ बनेको छ। उक्त व्यवस्थाले सांसदलाई संविधान र प्रचलित कानुनभन्दा बाहिर जाने विशेषाधिकार दिन खोजिएको भन्दै विपक्षी दलहरूले त्यसलाई हटाउन संशोधन प्रस्ताव दर्ता गराएका छन्।

आइतबारको बैठकमा विपक्षी सांसदहरूले उक्त प्रावधान खारेज गर्नुपर्ने अडान दोहोर्याएका थिए। तर सभामुखले प्रक्रिया नरोक्ने संकेत दिएपछि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू वेलमा पुगेर विरोध जनाउन थालेका छन्।
सदनभित्र नाराबाजी र वेल घेराउ जारी रहे पनि नियमावलीमाथि परेका संशोधन प्रस्तावहरू क्रमशः निर्णयार्थ प्रस्तुत भइरहेका छन्।
विपक्षी दलहरूले संसदीय अभ्यासअनुसार नियमावलीजस्तो महत्वपूर्ण दस्तावेज सबै दलको सहमतिमा पारित गरिनुपर्ने परम्परा रहेको उल्लेख गर्दै यसपटक त्यसलाई बेवास्ता गरिएको आरोप लगाएका छन्। उनीहरूले बहुमतको बलमा नियमावली पारित गर्न खोजिएको भन्दै असन्तुष्टि जनाएका छन्।

