काठमाडौं :-नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आफ्नो ४७औँ स्थापना दिवस सप्ताहव्यापी कार्यक्रमका साथ मनाइरहेका बेला बुढानीलकण्ठ इकाई कमिटीका अध्यक्ष मनोज कुमार राउतले संगठन विगतदेखि नै यातायात मजदुरहरूको हक, हित र अधिकारका लागि निरन्तर संघर्षरत रहेको बताएका छन्।

स्थापना दिवसको अवसरमा गरिएको विशेष कुराकानीमा अध्यक्ष राउतले संगठनले स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोडेर विविध कार्यक्रम सञ्चालन गरेको जानकारी दिए। उनका अनुसार सप्ताहव्यापी कार्यक्रमअन्तर्गत रक्तदान, सरसफाइ अभियान, हाजिरीजवाफ प्रतियोगिता, मजदुर सचेतना कार्यक्रम तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ।
“मजदुरको हकहित, सामाजिक सुरक्षा र सम्मानका लागि हाम्रो संगठन निरन्तर संघर्षरत छ,” अध्यक्ष राउतले भने, “श्रमिकहरूको आवाजलाई सशक्त रूपमा उठाउँदै उनीहरूको अधिकार सुनिश्चित गर्न हामी प्रतिबद्ध छौँ।”

उनले यातायात क्षेत्रमा कार्यरत मजदुरहरूले अझै पनि अस्थिर आम्दानी, सामाजिक सुरक्षाको अभाव, बढ्दो व्यावसायिक प्रतिस्पर्धा तथा श्रमिकमैत्री नीतिको अभावजस्ता समस्याको सामना गरिरहेको उल्लेख गरे। यस्ता समस्याको समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर संवाद र पहल भइरहेको उनको भनाइ छ।
राउतले संगठनको ४७ वर्षे यात्राले मजदुर आन्दोलनलाई सुदृढ बनाएको उल्लेख गर्दै नयाँ पुस्तालाई श्रमिक अधिकार, अनुशासन र सामाजिक सेवाको भावनासँग जोड्नुपर्ने आवश्यकता औँल्याए।
स्थापना दिवसका अवसरमा सञ्चालन भइरहेका कार्यक्रमहरू असार ९ गतेसम्म जारी रहने जनाउँदै उनले सम्पूर्ण यातायात मजदुर, शुभेच्छुक तथा स्थानीय समुदायलाई सक्रिय सहभागिताका लागि आह्वान गरे।
उनका अनुसार श्रमिक एकता, सामाजिक सेवा र मानवीय सहयोगको भावनालाई थप मजबुत बनाउँदै संगठनले आगामी दिनमा पनि मजदुरको हितका लागि आफ्नो अभियानलाई निरन्तरता दिनेछ।

