काठमाडौं :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा पार्टीभित्र निरन्तर असन्तुष्टि जनाइरहने नेताहरूलाई लिएर रोचक टिप्पणी गरेका छन्।

कांग्रेसको मञ्चबाट सम्बोधन गर्दै लामिछानेले पार्टीभित्र बसेर सधैं ‘कचकच’ र ‘गनगन’ गर्ने व्यक्तिलाई सम्झाइरहनुभन्दा कहिलेकाहीँ छोडिदिनु नै उचित हुने बताएका हुन्।
‘कहिलेकाहीँ पार्टीभित्र बसेर सधैं कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदै सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो पनि हुन्छ,’ लामिछानेले भने।
उनले उक्त अभिव्यक्तिलाई कांग्रेस सभापति गगनकुमार थापासँग जोड्दै थपे, ‘यति भनिदिएर मैले गगनजीलाई दोस्रो गुण लगाएको छु। मान्ने नमान्ने तपाईंको जिम्मा।’

लामिछानेले कसलाई लक्षित गरेर उक्त टिप्पणी गरेका हुन् भन्ने नाम भने खुलाएका थिएनन्। त्यसैले उनको भनाइलाई कुनै निश्चित कांग्रेस नेता वा समूहसँग जोडेर निष्कर्ष निकाल्नुभन्दा सम्बोधनकै सन्दर्भमा हेर्नुपर्ने हुन्छ।
लामिछानेले सम्बोधनका क्रममा कांग्रेसको इतिहास र लोकतान्त्रिक आन्दोलनमा उसको योगदानको चर्चा गर्दै वर्तमान राजनीतिक परिस्थिति, सरकार, निर्वाचन, लोकतन्त्र र दलहरूबीचको सहकार्यबारे समेत धारणा राखेका थिए।

