बुटवल :- बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि नरिश्वर शर्मा पौडेल नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको छ। ‘नयाँ सोच, नयाँ विचार, समावेशी साझा नेतृत्व’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएको टोलीले ‘सुरक्षित उद्योग र व्यापार, समृद्ध बुटवलको आधार’*लाई मुख्य संकल्पका रूपमा अघि सारेको छ।

पौडेल नेतृत्वको टोलीले संघलाई उद्योगी–व्यवसायीको साझा, भरोसायोग्य र प्रभावकारी संस्थाका रूपमा विकास गर्ने दाबी गर्दै २० बुँदे प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेको छ। व्यवसायीको सुरक्षा, प्रशासनिक सहजीकरण, पार्किङ तथा ट्राफिक व्यवस्थापन, लगानी प्रवर्द्धनदेखि स्थानीय उत्पादनको बजार विस्तारसम्मका विषयलाई प्रतिबद्धतामा प्राथमिकता दिइएको छ।
प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा निर्मित कसजू, वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा, महासचिवमा बसन्तप्रसाद ढकाल, कोषाध्यक्षमा प्रतिक पोखरेल, सचिवमा दीपकप्रसाद चापागाईं र सह–कोषाध्यक्षमा कमला पोखरेल पराजुली (मञ्जु)ले उम्मेदवारी घोषणा गरेका छन्।

एसोसिएट सदस्यतर्फ भानुभक्त खत्री (भानु), उद्योग सदस्यतर्फ सुनिता बन्जाडे, कृष्णप्रसाद माण्डे, ज्ञानबहादुर पुन र लेखनाथ भण्डारी तथा वाणिज्य सदस्यतर्फ गणेशप्रसाद भट्टराई, उमेश अमात्य, जगन्नाथ न्यौपाने र रामबहादुर भण्डारी चुनावी मैदानमा छन्।
महिला सदस्यतर्फ रेनु श्रेष्ठ र मञ्जु पुरी गिरी तथा खुला सदस्यतर्फ विष्णु घिमिरे पन्त (कमला), दीपक घिमिरे, प्रदीप शाक्य, अलिम दिन, कृष्ण श्रेष्ठ (कलप्रसाद), शिवदेव अर्याल र विष्णु उपाध्यायले उम्मेदवारी घोषणा गरेका छन्।
पौडेल नेतृत्वको टोलीले व्यवसायीको सम्मान, व्यापारको सुरक्षा र बुटवलको आर्थिक विकासलाई आफ्नो प्राथमिक एजेन्डाका रूपमा प्रस्तुत गरेको छ। व्यवसाय दर्ता, नवीकरणलगायत प्रशासनिक प्रक्रिया सरल, छिटो र पारदर्शी बनाउन सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्ने प्रतिबद्धता टोलीले जनाएको छ।
बुटवलका मुख्य बजार क्षेत्रमा लामो समयदेखि देखिँदै आएको पार्किङ तथा ट्राफिक व्यवस्थापनको समस्या समाधानका लागि पहल गर्ने, बन्द वा विस्थापनको जोखिममा रहेका उद्योग–व्यवसायको संरक्षण गर्ने तथा निर्माणाधीन सडक, ढल, खानेपानी र विद्युत् आयोजनालाई समयमै सम्पन्न गराउन सम्बन्धित निकायलाई दबाब दिने विषयसमेत प्रतिबद्धतापत्रमा समेटिएका छन्।
टोलीले बुटवललाई लुम्बिनी प्रदेशको प्रमुख आर्थिक केन्द्रका रूपमा स्थापित गर्ने, पर्यटन र व्यापारबीचको सम्बन्ध विस्तार गर्ने तथा स्थानीय उत्पादनको प्रवर्द्धन र बजार विस्तारमा पहल गर्ने योजना अघि सारेको छ।
बदलिँदो व्यावसायिक वातावरणलाई ध्यानमा राख्दै डिजिटल भुक्तानी तथा अनलाइन व्यापारलाई प्रोत्साहन गर्ने, बैंक तथा वित्तीय संस्थासँग ब्याजदर र कर्जासम्बन्धी विषयमा नियमित संवाद गर्ने तथा भन्सार र आयात–निर्यात प्रक्रियामा देखिएका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाइएको छ।
युवा तथा नयाँ उद्यमीलाई प्रोत्साहन, साना तथा मझौला व्यवसायको संरक्षण, महिला उद्यमीको पहुँच विस्तार, संस्थागत पारदर्शिता र लगानी प्रवर्द्धनलाई पनि टोलीले प्राथमिकतामा राखेको छ। व्यवसायीका समस्या संघबाटै समाधान गर्न सहजीकरण गर्ने उद्देश्यले एकद्वार सहायता प्रणाली स्थापना गर्ने प्रस्तावसमेत अघि सारिएको छ।
पौडेल नेतृत्वको प्यानलले सार्वजनिक गरेको प्रतिबद्धतापत्रलाई चुनावी घोषणामा मात्र सीमित नराखी बुटवलका उद्योगी–व्यवसायीका साझा आवश्यकता र एजेन्डाका रूपमा कार्यान्वयन गर्ने जनाएको छ। संवाद, सहकार्य, पारदर्शिता र परिणाममुखी कार्यशैलीमार्फत संघलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाउँदै टोलीले आफ्नो पक्षमा समर्थनका लागि उद्योगी–व्यवसायीसँग अपिल गरेको छ।

