काठमाडौं :-प्रधानमन्त्री बालेन शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहपछि खुलामञ्चलाई लिएर सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्।

आइतबार साँझ फेसबुकमा स्टाटस लेख्दै शाहले भनेका छन्, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्।’

आइतबार नै काठमाडौंको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आयोजना गरिएको थियो। समारोहमा कांग्रेस सभापति गगनकुमार थापाले संसद् र राजनीतिक दलभित्र प्रश्न, असहमति र फरक विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका थिए।

थापाले १० वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै यसलाई काठमाडौंको एउटा चौरका रूपमा मात्रै नभई राजनीतिक संवाद, बहस र असहमति व्यक्त गर्ने ऐतिहासिक थलोका रूपमा व्याख्या गरेका थिए।
उनले संसद् र पार्टीभित्र समेत ‘खुलामञ्च’ आवश्यक रहेको भन्दै सरकार तथा प्रधानमन्त्रीको कार्यशैलीबारे टिप्पणी गरेका थिए।
त्यसपछि साँझ प्रधानमन्त्री शाहले फेसबुकमार्फत खुलामञ्चकै प्रसंग जोडेर उक्त स्टाटस लेखेका हुन्।
शाह काठमाडौं महानगरपालिकाको प्रमुख रहेका बेला लामो समयदेखि अव्यवस्थित अवस्थामा रहेको खुलामञ्चको संरक्षण तथा स्तरोन्नतिको काम अघि बढाइएको थियो। पछिल्लो समय खुलामञ्चमा राजनीतिक तथा अन्य ठूला सभा–कार्यक्रम सञ्चालनमा रोक लगाइएको थियो।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनसँगै खुलामञ्च पुनः ठूलो राजनीतिक कार्यक्रमको केन्द्र बनेको छ। यही दिन प्रधानमन्त्री शाहले सार्वजनिक गरेको स्टाटसले खुलामञ्चसँगै कांग्रेस महाधिवेशनमा भएका राजनीतिक अभिव्यक्तिलाई पनि चर्चामा ल्याएको छ

