काठमाडौं :- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनलाई संसद्को अंकगणितमा मात्रै सीमित नगरी सबैको अपनत्व र भावना समेटेर अघि बढाउनुपर्ने बताएका छन्।

आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले संविधान संशोधन राष्ट्रिय महत्वको विषय भएकाले सत्ता र प्रतिपक्षको चाहना वा संसद्मा आवश्यक संख्या जुटाउने विषयमा मात्रै केन्द्रित हुन नहुने बताए।
संविधान संशोधन गर्दा संसद्मा रहेका राजनीतिक दलसँगै हाल संसद्मा नरहेका तर विगतको संविधानसभामा सहभागी भएका दल तथा अन्य सरोकारवालालाई समेत छलफलमा समेट्नुपर्ने उनको भनाइ थियो। व्यापक छलफल र राष्ट्रिय अपनत्वका आधारमा संशोधन प्रक्रिया अघि बढाउन उनले सरकारलाई आग्रह गरे।

शर्माले कांग्रेसको १५औँ महाधिवेशनलाई पार्टीको नयाँ यात्राको सुरुवातका रूपमा व्याख्या गर्दै महाधिवेशनपछि कांग्रेस थप दृढ, ऊर्जाशील र नयाँ पुस्ताको भावना समेटेर अघि बढ्ने बताए।
बीपी कोइरालाको नेतृत्वमा स्थापित कांग्रेसले लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै उनले पुराना पुस्ताको योगदान र अनुभवलाई सम्मान गर्दै नयाँ पुस्ताको ऊर्जा र दृष्टिकोणलाई पार्टीसँग जोडेर अघि बढ्नुपर्ने धारणा राखे।
उनले राष्ट्रिय महत्वका विषयमा सत्ता र प्रतिपक्षको सीमाभन्दा माथि उठेर सहकार्य आवश्यक रहेको बताए। संविधान संशोधनसँगै अर्थतन्त्र सुधार, जलवायु परिवर्तन, विदेशमा रहेका नेपालीका सवाल र सामाजिक सद्भावजस्ता विषयमा राष्ट्रिय समझदारी आवश्यक रहेको उनको भनाइ थियो।
देशको विकास र समृद्धिका विषयमा सरकारसँग आवश्यक सहकार्य गर्ने उल्लेख गर्दै शर्माले जिम्मेवार प्रतिपक्ष र बलियो सरकारबीच राष्ट्रिय मुद्दामा सहकार्य हुन सके मुलुकले त्यसको लाभ लिन सक्ने बताए।
महाधिवेशनपछि कांग्रेसलाई संगठनात्मक रूपमा थप सुदृढ बनाउँदै नयाँ ऊर्जा र दृष्टिकोणका साथ अघि बढाउने प्रतिबद्धता पनि शर्माले व्यक्त गरे।

