काठमाडौं :- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्र बलियो बनाउन संसददेखि राजनीतिक दलभित्रसम्म प्रश्न, असहमति र फरक विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका छन्।

आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले संसद् र राजनीतिक दलभित्र पर्याप्त खुलापन नभएको उल्लेख गर्दै देशलाई ‘खुलामञ्च’ चाहिएको बताएका हुन्।
१० वर्षपछि खुलामञ्च खुलेको प्रसंग उल्लेख गर्दै उनले यसलाई काठमाडौंको एउटा चौरका रूपमा मात्रै बुझ्न नहुने बताए। नेपालको राजनीतिक आन्दोलन र लोकतान्त्रिक अभ्यासमा खुलामञ्चको विशेष इतिहास रहेको उल्लेख गर्दै उनले विगतमा विभिन्न राजनीतिक दल र नेताहरूले यही थलोबाट आफ्ना विचार जनतामाझ पुर्याएको स्मरण गरे।

थापाले अब भौतिक रूपमा मात्रै नभई राज्यका संरचना, संसद् र राजनीतिक दलभित्र समेत ‘खुलामञ्च’को आवश्यकता रहेको बताए।
सबैभन्दा पहिले सिंहदरबार र संसद्भित्र खुलापन आवश्यक रहेको उनको भनाइ थियो। सत्तामा रहेकाहरूले जनताका प्रश्न सुन्नुपर्ने र त्यसको जवाफ दिनुपर्ने उल्लेख गर्दै उनले संसद्लाई जनताको आवाज सुनिने र सरकारलाई प्रश्न गर्न सकिने थलो बनाउनुपर्नेमा जोड दिए।
थापाले आफ्नै पार्टीभित्र समेत प्रश्न र आलोचनालाई स्वीकार गर्ने राजनीतिक संस्कार विकास गर्नुपर्ने बताए।
‘पार्टीभित्र पनि खुलामञ्च चाहिएको छ। नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्,’ थापाले भने।
नेतृत्वसँग असहमति राख्ने, प्रश्न गर्ने र आलोचना गर्ने अधिकार पार्टीभित्रै संस्थागत हुनुपर्ने उनको भनाइ थियो। लोकतन्त्रलाई राज्य व्यवस्थामा मात्रै खोजेर नपुग्ने भन्दै उनले राजनीतिक दलहरूको आन्तरिक संरचना र कार्यशैलीसमेत लोकतान्त्रिक हुनुपर्ने धारणा राखे।
उनले पहाडदेखि तराईसम्म तथा भौतिक स्थानदेखि डिजिटल माध्यमसम्म नागरिकले आफ्ना कुरा निर्धक्क राख्न र नेतृत्वलाई प्रश्न गर्न सक्ने खुला संवादका थलो आवश्यक रहेको बताए।
‘संसद् बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ,’ थापाले भने।
१० वर्षपछि खुलामञ्चमै कांग्रेसको महाधिवेशन आयोजना हुनुलाई थापाले खुला संवाद र नागरिकसँग राजनीतिको सम्बन्ध जोड्ने अवसरका रूपमा प्रस्तुत गरे। खुलामञ्चलाई राजनीतिक सभा गर्ने स्थानमा मात्रै सीमित नराखी प्रश्न, असहमति, बहस र विचार आदानप्रदानको साझा थलोका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो।

