काठमाडौँ :- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको आगामी महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। पार्टीभित्र व्यापक संरचनागत सुधार, नीतिगत स्पष्टता र नेतृत्वमा नयाँ ऊर्जा आवश्यक रहेको भन्दै उनले सभापतिमा उम्मेदवारी दिने निर्णय सार्वजनिक गरेका हुन्।

भण्डारीले राजधानीमा आयोजित छलफल कार्यक्रममा बोल्दै तत्कालीन नेतृत्वले पार्टीलाई जनभावना अनुसार चलाउन नसकेको र अब संगठन सुदृढीकरण तथा वैचारिक स्पष्टताको आवश्यकता अत्याधिक भएको बताए।

उनले भने,“कांग्रेसमा परिवर्तनको माग बढिरहेकाले अब म सभापति पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको छु। पार्टीलाई पारदर्शी, सबैमाथि समान न्याय हुने र कार्यकर्तामैत्री बनाउने मेरो प्रतिवद्धता छ।”
उनका अनुसार, पार्टीभित्रको नीति निर्माणदेखि निर्णय प्रक्रियासम्म युवा पुस्ताको सहभागिता सुनिश्चित गरिनुपर्ने, आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्दै आर्थिक पारदर्शिता अनिवार्य बनाइनेछ।
नेता भण्डारीको उम्मेदवारी घोषणालाई पार्टीभित्र सकारात्मक संकेतका रूपमा हेरिएको छ। विशेषगरी पुराना नेतृत्व र नयाँ पुस्ताबीच उत्पन्न भइरहेका मत–असन्तोषका बीच भण्डारी नेतृत्वको विकल्पका रूपमा प्रस्तुत भइरहेका छन्।
महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र विभिन्न धार र समूह संगठित रूपमा सक्रिय भइरहेका छन् भने आगामी दिनमा सभापतिका अन्य संभावित उम्मेदवारहरूले पनि आफ्नो पक्ष स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
![]()

