जुम्ला :- बदलिँदो समयसँगै हराउँदै गएको नेपाली स्वाद, परम्परा र आत्मीयता… अब त्यसैलाई फेरि महसुस गराउने एउटा सुन्दर प्रयास जुम्लाबाट सुरु हुँदैछ।

होटल पौवाले आफ्नो १०औँ स्थापना दिवसको अवसरमा ‘पौवा स्वाद उत्सव–२०८२’ आयोजना गर्दैछ—जहाँ खाना मात्र होइन, नेपालीपनको अनुभूति पाइनेछ।
चैत २६ देखि २८ गतेसम्म सञ्चालन हुने यो तीन दिने उत्सवमा कर्णालीका मौलिक परिकारदेखि देशभरका परम्परागत स्वादहरू एउटै ठाउँमा चाख्न पाइनेछ। यहाँ आउने प्रत्येक आगन्तुकले केवल खाना होइन, गाउँघरको माया, संस्कृतिको झल्को र आफ्नोपनको न्यानोपन अनुभव गर्नेछन्।

होटल पौवा जुम्लाका म्यानेजर थानेश्वर भण्डारी भन्छन्,
“यो केवल स्वादको उत्सव होइन, हाम्रो पहिचान बचाउने सानो प्रयास हो। हामी चाहन्छौँ—मानिसहरूले यहाँ आएर नेपाली हुनुको अनुभूति गरून्।”
उत्सवमा परिकारका स्टलहरू, सांस्कृतिक प्रस्तुति, संगीत र रमाइलो वातावरणले सबै उमेर समूहलाई आकर्षित गर्नेछ। बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म खुला रहने यस कार्यक्रममा परिवार, साथीभाइसँगै पुगेर खुसी साट्न सकिनेछ।
आजको व्यस्त जीवनमा जहाँ फास्टफुडले हाम्रो भान्सा ओगट्दैछ, त्यहीँ यस्तो उत्सवले हामीलाई आफ्नै स्वाद, आफ्नै संस्कृति र आफ्नै पहिचानतर्फ फर्किन सन्देश दिन्छ।
आयोजकका अनुसार यो उत्सवले जुम्लाको पर्यटन मात्र होइन, समग्र कर्णालीको मौलिक खानपान संस्कृतिलाई नयाँ जीवन दिने विश्वास लिएको छ।
यसैबीच, सामाजिक उत्तरदायित्वअन्तर्गत चैत २५ गते जुम्लाको कर्णाली माविमा विद्यार्थीहरूलाई फलफूल तथा जुस वितरण कार्यक्रम पनि सम्पन्न गरिएको छ । जसले उत्सवलाई झन् अर्थपूर्ण बनाएको छ।

