काठमाडौँ :-भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा राज्यका महत्त्वपूर्ण निकायमा तोडफोड तथा आगजनी गरेको आरोपमा १३ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उपत्यकाभित्रका प्रहरी कार्यालय, अदालत र सिंहदरबारमा आगजनी तथा तोडफोडमा संलग्न व्यक्तिहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार सिंहदरबारमा तोडफोड तथा आगजनीमा संलग्न आशिष गुरुङविरुद्ध आपराधिक उपद्रो तथा डाँका सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ ।

त्यस्तै, सर्वोच्च अदालतमा आगजनी गर्ने सुनिल श्रेष्ठ, ज्योति थापा, विनोदकुमार थापा मगर, कुमार पराजुली र राजु परियारविरुद्ध पनि आपराधिक उपद्रो मच्चाएको अभियोगमा मुद्दा दायर भएको छ ।
सर्वोच्च अदालतले भदौ २४ गतेको घटनामा संलग्न व्यक्तिहरूको अनुसन्धान गरी कारबाहीको माग गर्दै काठमाडौँ प्रहरी परिसरमा जाहेरी दिएको थियो । सोही जाहेरीका आधारमा अनुसन्धान गरी मुद्दा दायर गरिएको हो ।
अभियोगपत्र अनुसार उनीहरूले सर्वोच्च अदालतमा आगजनी गरी एक अर्ब २३ करोड ६२ लाख ३८ हजार रुपैयाँ बराबरको क्षति पुर्याएका छन् ।
यसैगरी, प्रहरी वृत्त बौद्धमा तोडफोड गरेको आरोपमा समीर श्रेष्ठ र सुनिल तामाङविरुद्ध पनि मुद्दा दायर गरिएको छ । प्रहरी प्रभाग बलम्बुमा तोडफोड गरेको अभियोगमा निखिल कुसुले, सोहन चौधरी, विवेक रोक्का र छत्रबहादुर विकविरुद्ध पनि मुद्दा चलाइएको छ ।
प्रतिवादीहरूलाई सरकारी वकिल कार्यालयले हाजिर जमानीमा रिहा गरेको छ । अब उनीहरूसँग म्याद जारी गर्ने प्रक्रियाका लागि अदालतमा आवश्यक कार्य अघि बढाइएको अधिकारीले बताएका छन् ।
सरकारी वकिल कार्यालयले विष्णुप्रसाद ढुंगोलविरुद्ध भने मुद्दा नचल्ने निर्णय गरेको छ । घटनास्थलमा उपस्थित भएको पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएको तथा अन्य प्रतिवादीहरूले समेत पोल नगरेको आधारमा उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गरिएको जनाइएको छ ।

