काठमाडौं :- निर्वाचन आयोगले चुनावी प्रचारका क्रममा भौतिक रूपमा ‘घण्टी’ बोकेर प्रदर्शन नगर्न स्पष्ट निर्देशन दिएको छ। आयोगले मतपत्रमा प्रयोग हुने चुनाव चिह्नलाई ठूलो आकारको प्रतिकृति बनाएर जुलुस, सभा वा र्यालीमा प्रयोग गर्नु आचारसंहिताविपरीत हुन सक्ने जनाएको हो।

आयोगको निर्देशन विशेषतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही कार्यक्रमहरूमा देखिएको ‘घण्टी’ प्रदर्शनसँग सम्बन्धित छ। सार्वजनिक रूपमा ठूलो ‘घण्टी’ बोकेर प्रचार गरिएको तस्बिर र भिडियो बाहिरिएपछि आयोगले ध्यानाकर्षण जनाएको थियो।
आयोगका प्रवक्ताले भने, “चुनाव चिह्न मतपत्रमा प्रयोग हुने आधिकारिक संकेत हो। त्यसलाई प्रचार सामग्रीसरह भौतिक वस्तुका रूपमा प्रदर्शन गर्नु उपयुक्त हुँदैन। सबै दलले समान रूपमा आचारसंहिता पालना गर्नुपर्छ।”
आयोगले झण्डा, ब्यानर, पोस्टर तथा डिजिटल सामग्रीमा चुनाव चिह्न प्रयोग गर्न पाइने भए पनि प्रतिकृति बनाएर प्रदर्शन नगर्न सचेत गराएको छ। आचारसंहिता उल्लंघन भएमा स्पष्टीकरण माग्ने, चेतावनी दिने वा आवश्यक परे कानुनी कारबाही गर्ने व्यवस्था रहेको आयोगले जनाएको छ।
निर्वाचन आचारसंहिता लागू भएसँगै आयोगले अनुगमनलाई तीव्र बनाएको छ र सबै राजनीतिक दललाई मर्यादित तथा निष्पक्ष प्रतिस्पर्धाका लागि आह्वान गरेको छ।
![]()

