दमक :-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा निर्वाचन क्षेत्र नम्बर ५ लाई केन्द्रमा राख्दै चुनावी रणनीति तीव्र बनाएको छ। पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई उम्मेदवार बनाउने तयारी अघि बढेसँगै झापा–५ लाई प्रतिष्ठाको लडाइँका रूपमा हेरिन थालेको छ।

बालेन शाहको सम्भावित उम्मेदवारीलाई लक्षित गर्दै रास्वपाले दमक क्षेत्रमा संगठन विस्तार, आवास व्यवस्था र सम्पर्क कार्यालय स्थापनाको काम अघि बढाएको छ। रास्वपा झापा अध्यक्षका अनुसार दमक–३ स्थित क्याम्पस मोड आसपास दुई वटा घर भाडामा लिने प्रक्रिया टुंगिएको छ भने आवास तथा सम्पर्क कार्यालय प्रयोजनका लागि तेस्रो घरको खोजी जारी छ।
यसैबीच, पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेता–कार्यकर्ता झापा पुग्ने तयारीमा छन्। उम्मेदवारी औपचारिक घोषणा अघि नै प्रारम्भिक चुनावी सर्भेक्षण, मतदाता धारणा संकलन र स्थानीय कार्यकर्तासँगको समन्वय सुरु गरिएको रास्वपाले जनाएको छ।

झापा–५ हाल नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र भएकाले यस क्षेत्रको राजनीतिक प्रतिस्पर्धा थप चर्किने संकेत देखिएको छ। यही कारण रास्वपाले झापा–५ लाई केवल निर्वाचन क्षेत्र मात्र नभई राष्ट्रिय राजनीतिक सन्देश दिने मञ्चका रूपमा लिएको विश्लेषकहरू बताउँछन्।
काठमाडौं महानगरपालिकाको मेयरका रूपमा फरक कार्यशैली, कडा निर्णय र स्वतन्त्र छविका कारण चर्चामा रहेका बालेन शाहको सम्भावित उम्मेदवारीले युवा मतदाता र असन्तुष्ट समूहलाई आकर्षित गर्न सक्ने आँकलन रास्वपाले गरेको छ। पार्टी स्रोतका अनुसार, बालेनलाई जसरी पनि जिताउने लक्ष्यसहित संगठन, प्रचार र जनसम्पर्क अभियान रकेट गतिमा अघि बढाइएको छ।
उम्मेदवारी औपचारिक घोषणा हुन बाँकी रहे पनि झापा–५ मा सुरु भएको यो राजनीतिक चहलपहलले आगामी निर्वाचनलाई रोचक, प्रतिस्पर्धात्मक र उच्च राजनीतिक महत्वको बनाउने संकेत देखिएको छ।
![]()

