बुटवल:-रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको दुःखमा साथ दिँदै बुटवल–१३ स्थित जितेश्वरी टोल विकास संस्थाले ५० हजार २०५ रुपैयाँ सहयोग गरेको छ।

संस्थामा आबद्ध व्यक्तिहरूले स्वेच्छिक रूपमा रकम संकलन गरी मंगलबार एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको संस्थाका अध्यक्ष दशरथ पौडेलले जानकारी दिए।
उनका अनुसार भोटेकोशी बाढीबाट प्रभावित नागरिकको तत्कालीन राहत, उद्धार तथा पुनःस्थापनामा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले टोलवासीहरू आफैं सहयोग अभियानमा जोडिएका हुन्।

टोल–टोलबाट जुट्दै मानवताको साथ
विपद्को समयमा सरकार र ठूला संघसंस्थाको सहयोगसँगै समुदायस्तरबाट हुने सानो–सानो योगदानले पनि ठूलो अर्थ राख्ने अध्यक्ष पौडेलले बताए। संस्थामा आबद्ध सदस्यहरूले आफ्नो इच्छाअनुसार रकम प्रदान गरेका थिए।
बाढीले धेरै परिवारको घरबार, सम्पत्ति र सामान्य दैनिकी प्रभावित बनाएको अवस्थामा राज्यले सञ्चालन गरिरहेको राहत तथा पुनःस्थापनाको अभियानमा समुदायको तर्फबाट पनि हातेमालो गर्न खोजिएको संस्थाले जनाएको छ।
टोल विकास संस्था स्थानीयस्तरको सबैभन्दा नजिकको सामाजिक संरचनामध्ये एक हो। आफ्नो टोलभन्दा धेरै टाढा विपद्मा परेका नागरिकको पीडालाई समेत साझा दुःखका रूपमा लिएर गरिएको यो सहयोगले ‘विपद्मा भूगोल होइन, मानवता जोडिन्छ’ भन्ने सन्देश दिएको छ।
जितेश्वरी टोलवासीले स्वेच्छाले जुटाएको ५० हजार २०५ रुपैयाँ रकम मात्र होइन, भोटेकोशी बाढीपीडितका लागि बुटवलबाट पठाइएको साथ, सद्भाव र ऐक्यबद्धतासमेत हो।

