बुटवल :- लियो जिल्ला परिषद् ३२५ पी नेपाल वर्ष २०२६–२७ को जिल्ला अध्यक्ष पदका लागि लियो लायन सुष्मा बस्यालले आफ्नो उम्मेदवारी सार्वजनिक गरेकी छन्।

‘सक्रिय, एकताबद्ध र प्रभावमुखी लियो जिल्ला’ भन्ने मूल नारासहित उनले सार्वजनिक गरेको कार्ययोजनाले संस्थालाई थप सुदृढ, पारदर्शी र परिणाममुखी बनाउने लक्ष्य लिएको जनाएको छ।

बस्यालले प्रस्तुत गरेको आठ बुँदे एजेन्डामा सुदृढ क्लब निर्माण तथा सुशासन, प्रभावकारी सेवा परियोजना सञ्चालन, लियो–लायन्स सहकार्य विस्तार, पारदर्शिता तथा प्रतिवेदन प्रणाली सुदृढीकरण, युवा सशक्तीकरण तथा उद्यमशीलता विकास, स्रोत परिचालन तथा साझेदारी विस्तार, प्रभावकारी जिल्ला कार्यसम्पादन तथा मार्गदर्शन तथा सहयोग प्रणाली विकास लाई प्राथमिकतामा राखिएको छ।
हाल लियो जिल्ला परिषद् ३२५ पी नेपालकी उपाध्यक्ष रहेकी बस्यालको नेतृत्व यात्रा क्लब तहदेखि जिल्ला हुँदै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भर्चुअल मञ्चसम्म पुगेको छ। उनले चार्टर सचिवबाट नेतृत्व यात्रा सुरु गर्दै क्लब अध्यक्ष, क्षेत्रीय अध्यक्ष, जिल्ला सह–कोषाध्यक्ष हुँदै उपाध्यक्ष पदसम्मको जिम्मेवारी सम्हालिसकेकी छन्।
उनी अन्तर्राष्ट्रिय श्रम संगठन तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत प्रमाणित प्रशिक्षकका रूपमा १२ जिल्लाका ६९ स्थानीय तहमा ६०० भन्दा बढी युवालाई उद्यमशीलता तालिम प्रदान गरिसकेकी छन्।
त्यस्तै अन्तर्राष्ट्रिय युवा सम्मेलन तथा लायन्स नेतृत्व विकाससम्बन्धी विभिन्न भर्चुअल कार्यक्रममा सहभागिता जनाउँदै उनले नेतृत्व तथा सञ्जाल विस्तारको अनुभव हासिल गरेकी छन्।
उनको अध्यक्षीय कार्यकाल २०२२/२३ मा ४१ संयुक्त कार्यक्रम, दुई हजारभन्दा बढी लाभग्राहीसहित स्वास्थ्य शिविर, ‘एक युवा–एक बिरुवा’ अभियान तथा सदस्यता विस्तारका कार्यक्रम सञ्चालन भएका थिए।
लियो क्लब अफ भलवारीसँग आबद्ध बस्यालको उम्मेदवारीले लियो वृत्तमा नेतृत्व चयनप्रति थप चासो र बहस सिर्जना गरेको छ। आगामी निर्वाचनमा उनको एजेन्डा र कार्यअनुभवलाई विशेष रूपमा हेरिएको छ।

