बुटवल :- कक्षाकोठामा विद्यार्थीलाई किताबको ज्ञानसँगै मानवता र सामाजिक उत्तरदायित्वको पाठ सिकाउँदै आएको स्कलर्स होम माध्यमिक विद्यालय परिवार भोटेकोशी बाढीपीडितको सहयोगमा अघि सरेको छ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउन विद्यालय परिवारले २ लाख २ हजार १११ रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
सहयोगको विशेष पक्ष भनेको यो रकम विद्यालयको संस्थागत योगदानमा मात्रै सीमित छैन। विद्यार्थी, शिक्षक–कर्मचारी र अभिभावकसहित समग्र विद्यालय परिवारको सहभागितामा रकम जुटाइएको विद्यालयले जनाएको छ।

विद्यार्थीले सिके सेवाको व्यावहारिक पाठ
विपद्को समयमा समस्यामा परेका नागरिकको दुःखलाई आफ्नै दुःख सम्झेर सहयोग गर्नुपर्छ भन्ने भावनासहित अभियान सञ्चालन गरिएको थियो। अभियानमा विद्यार्थी तथा विद्यालय परिवारको उत्साहजनक सहभागिता रहेको जनाइएको छ।
विद्यालयले शिक्षाको अर्थ पाठ्यपुस्तकमा सीमित ज्ञान मात्र नभई समाजप्रतिको जिम्मेवारी, मानवीय संवेदना र अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने संस्कारको विकाससमेत भएको सन्देश दिएको छ।
बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विद्यालयले प्रभावित नागरिकलाई तत्काल राहत, उद्धार तथा आवश्यक सहयोग उपलब्ध गराउन सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिएको छ।
सहयोग अभियानमा हातेमालो गर्ने विद्यार्थी, अभिभावक, शिक्षक–कर्मचारी तथा विद्यालय परिवारका सबै सदस्यप्रति विद्यालयले धन्यवादसमेत व्यक्त गरेको छ।
विद्यालय परिवारले आफूहरूले गरेको सहयोगले बाढीबाट प्रभावित परिवारको सम्पूर्ण पीडा समाधान गर्न नसके पनि उनीहरूलाई ‘दुःखको यो घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ भन्ने अनुभूति दिलाउन सक्ने विश्वास व्यक्त गरेको छ।
साथै प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आवश्यक पहल तीव्र बनाउन आग्रह गरिएको छ।
विपद्को समयमा स्कलर्स होमका विद्यार्थीले किताबबाट मात्रै होइन, व्यवहारबाटै मानवता र सेवाको पाठ सिकेका छन्। विद्यालय परिवारले जुटाएको २ लाख २ हजार १११ रुपैयाँ त्यही सामूहिक भावना र सामाजिक उत्तरदायित्वको उदाहरण बनेको छ।

