गुल्मी:-गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामस्थित आदर्श माध्यमिक विद्यालयका एक विद्यार्थीमाथि शिक्षकले मानसिक तनाव दिनुका साथै कुटपिट गरेको आरोप लगाउँदै अभिभावकले प्रहरीमा उजुरी दिएकी छन्।

विद्यार्थीकी अभिभावकले घटनाबारे निष्पक्ष छलफल र विद्यार्थीलाई न्यायको माग गर्दै विद्यालयका प्रधानाध्यापक र प्राथमिक तहका एक शिक्षकलाई किटान गरी श्रृङ्गा प्रहरी चौकीमा उजुरी दिएको बताइएको छ।
अभिभावकका अनुसार घरायसी विषयलाई विद्यालयसम्म जोडेर विद्यार्थीलाई अनावश्यक मानसिक दबाब दिइएको र कुटपिटसमेत गरिएको आरोप छ। घटनाको वास्तविकता पत्ता लगाई आवश्यक कारबाही तथा न्यायका लागि प्रहरीसमक्ष पुगेको उनको भनाइ छ।

सोमबार प्रहरीमा छलफल
श्रृङ्गा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक गोपाल ढाँडीले निवेदकबाट उजुरी प्राप्त भएको जानकारी दिँदै सोमबार निवेदक, आरोपित शिक्षक तथा सम्बन्धित सरोकारवालालाई राखेर घटनाबारे छलफल गराइने बताएका छन्।
पीडित भनिएका विद्यार्थीका अभिभावकले प्राथमिक तहमा अध्यापन गराउने शिक्षकले माध्यमिक तहमा अध्ययनरत विद्यार्थीमाथि गरेको भनिएको व्यवहारको कारणसमेत स्पष्ट हुनुपर्ने माग गरेकी छन्।
उनले प्रधानाध्यापक तथा सम्बन्धित विषय शिक्षकले विद्यार्थीको अध्ययन–अध्यापन र अनुशासनका विषयमा चासो राख्नु स्वाभाविक भए पनि असम्बन्धित शिक्षकबाट विद्यार्थीलाई अनावश्यक मानसिक दबाब दिनु उचित नभएको बताएकी छन्।
विद्यालयमा आकस्मिक बैठक
यसैबीच, विद्यालयले आइतबार बिदाको दिनसमेत विद्यालयका पदाधिकारी तथा शिक्षकहरूको आकस्मिक बैठक बोलाएको थियो।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार छलफलका क्रममा केही शिक्षकले विद्यार्थीले शिक्षकमाथि लगाएको आरोप कपोलकल्पित रहेको धारणा राखेका थिए। यद्यपि घटनाबारे प्रहरीमा छलफल हुन बाँकी रहेकाले आरोपको स्वतन्त्र पुष्टि भइसकेको छैन।
घटनाबारे विद्यालयको आधिकारिक धारणा बुझ्न प्रधानाध्यापकसँग सम्पर्क गर्ने प्रयास गरिए पनि फोन सम्पर्क हुन नसकेको बताइएको छ।
विद्यार्थीमाथि कुटपिट तथा मानसिक तनाव दिएको भन्ने आरोप र शिक्षक पक्षबाट त्यसलाई अस्वीकार गरिएको अवस्थाबीच अब प्रहरीको उपस्थितिमा हुने छलफलपछि घटनाबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।

