काठमाडौं :- चीनतर्फ ठूलो ताल फुटेपछि आएको बाढी रसुवाको स्याफ्रुबेसी आइपुगेको छ। चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रनजिक बनेको ताल फुटेपछि बाढी भोटेकोशी हुँदै नेपालतर्फ आएको हो।

बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो १२ बजेर ३१ मिनेटमा भोटेकोशी नदीको बाढी स्याफ्रुबेसी क्षेत्रमा आइपुगेको हो।
बाढीको बहाव तल्लो तटीय क्षेत्रतर्फ अघि बढ्ने भएकाले भोटेकोशी तथा त्रिशूली नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

विशेषगरी त्रिशूली नदीको तटीय क्षेत्रमा मुग्लिनसम्म अर्को सूचना जारी नभएसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।

नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका व्यक्तिलाई नदी नजिक नजान, बाढी हेर्न भीड नगर्न र सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

