काठमाडौँ :- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूको नारा र गीत गाएर मात्रै देशको उन्नति सम्भव नहुने स्पष्ट पारेकी छन्। सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले देशको वास्तविक आवश्यकता विकास, सुशासन र विधिसम्मत कानुनी प्रक्रिया भएको बताइन्।

प्रधानमन्त्री कार्कीले देशको उन्नति एकै रातमा सम्भव नहुने उल्लेख गर्दै सरकारले क्रमशः जिम्मेवारीपूर्वक काम अघि बढाइरहेको दाबी गरिन्। “सधैं राजनीतिक दलको गीत मात्रै गाएर हुँदैन,” उनले भनिन्, “उन्नति त देशको हुनुपर्यो, विकास त हुनुपर्यो। एकै रातमा सबै कुरा हुँदैन, तर सरकार आफ्नो जिम्मेवारीबाट पछि हटेको छैन।”
उनले जेन–जी आन्दोलनको समयका प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित टिप्पणी गर्दै कानुनको शासनमा प्रतिशोधको राजनीति नहुने स्पष्ट पारिन्। अनुसन्धानका क्रममा पक्राउ गर्ने कानुनी व्यवस्था भए पनि लोकतान्त्रिक व्यवस्थामा मनपरी दण्ड असम्भव रहेको उनको भनाइ थियो। “कानुन भनेको आवेग होइन, प्रक्रिया हो,” प्रधानमन्त्री कार्कीले भनिन्, “मान्छेलाई समाएर टुँडिखेलमा गोली हान्ने होइन। हामी कानुनका ज्ञाता हौं, कानुनका आफ्नै घडी हुन्छन्।”

प्रधानमन्त्री कार्कीले आफू नेतृत्वको सरकार गठनपछि भ्रष्टाचारविरुद्धका निकायहरू सक्रिय भएको दाबी पनि गरिन्। उनका अनुसार सरकार बनेयता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब ४० वटा मुद्दा दर्ता गरिसकेको छ। साथै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यसअघि कहिल्यै नगरेको ढंगले काम गरिरहेको उनको भनाइ छ।
“आज हामी सरकारमा आएपछि अख्तियारले उल्लेखनीय रूपमा मुद्दा दर्ता गरेको छ। सीआईबी पनि सक्रिय छ, जुन पहिला देखिएको थिएन,” उनले भनिन्।
प्रधानमन्त्री कार्कीले कानुनी शासन, सुशासन र संस्थागत सुधारमार्फत मात्रै देशलाई स्थायित्व र समृद्धितर्फ लैजान सकिने दोहोर्याउँदै राजनीतिक दलहरूलाई जिम्मेवार र परिपक्व व्यवहार गर्न आग्रह गरिन्।

