बुटवल :- नेपाली कांग्रेस का सभापति गगनकुमार थापा ले सबैलाई मिलाएर अगाडि बढ्ने क्षमता कांग्रेससँग मात्र रहेको बताएका छन्।
शुक्रबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्रको आन्तरिक विवाद मात्र नभई राष्ट्रिय मुद्दामा समेत अन्य दललाई मिलाएर अघि बढ्ने तागत कांग्रेससँग रहेको दाबी गरे। उनले यही कारणले कांग्रेसलाई भोट नहाल्ने कुनै कारण नभएको उल्लेख गरे।

‘कांग्रेसलाई भोट नहाल्ने कुनै कारण छैन, घर–घरमा गएर रूखमा मतदान गरेर कांग्रेसलाई जिताउँ भनेर आग्रह गर्नुहोस्,’ उनले नेता–कार्यकर्तालाई निर्देशन दिँदै भने।
सभापति थापाले किसानका खेतमा मल पुर्याउनेदेखि पहाडमा बाँदर धपाउनेसम्मका विषयमा अध्ययन टोली बनाएर जनतामाझ गएको बताए। सामाजिक सञ्जालमा मात्र सीमित नबस्न आग्रह गर्दै उनले भने, ‘सामाजिक सञ्जालमा अड्केर नबस्नुहोस्, घर–घरमा जानुहोस्, हाम्रो बारेमा सबै कुरा गर्नुहोस्।’
उनले उम्मेदवारहरूले आ–आफ्नो क्षेत्रमा दिनरात मेहनत गरिरहेको उल्लेख गर्दै पाँच वर्षका लागि रूख चिन्हमा मतदान गर्न अपिल गरे। ‘उम्मेदवारले मेहनत गरेर म गगन थापा भएर तपाईंसँग भोट माग्न आएको छु। पाँच वर्षका लागि रूखलाई भोट दिनुहोस्, देश हामी बनाउँछौँ,’ उनले भने।

सभापति थापाले कांग्रेसको सबैभन्दा ठूलो शक्ति संगठन भएको बताउँदै घर–घर पुगेर संवाद गर्न आग्रह गरे। ‘तपाईंको गोडा चलाउनुस्, घर–घर पुग्नुस्। तपाईंको हात चलाउनुस्, गएर ढोग्नुस्। तपाईंको मुख चलाउनुस्, गएर संवाद चलाउनुस्। नौजवानहरूको कुरा सुन्नुस्,’ उनले भने।
नवयुवासँग संवाद गर्दा सुरुमा आलोचना हुन सक्ने उल्लेख गर्दै उनले धैर्यपूर्वक जवाफ दिन सुझाव दिए। ‘उनीहरूले पहिला दुई लाइन गाली गर्लान्। उनीहरूसँग राम्रोसँग संवाद गर्नुस्। उनीहरूलाई भन्नुस्– यो कांग्रेस अधिवेशनबाट नयाँ संकल्प गरेर आएको छ,’ उनले भने।
विशेष महाधिवेशनबाट विगतका राम्रा अभ्यासलाई निरन्तरता दिँदै खराब पक्ष त्याग्ने प्रतिबद्धता लिएको उल्लेख गर्दै उनले कांग्रेसलाई एक अवसर दिन आग्रह गरे। ‘यो कांग्रेसले पाँच वर्षभित्र परिणाम दिने प्रतिज्ञा गरेको छ,’ उनले भने।
उत्तेजनाको राजनीतिमा नबहकिन आग्रह गर्दै उनले सामाजिक सञ्जालका सामग्रीबाट भ्रमित नहुन पनि सचेत गराए। ‘यो टेलिफोनले धेरैलाई झुक्याएको छ। धेरै भ्रममा नपरौं,’ उनले भने।
विदेशमा रहेका नेपालीलाई पनि सहयोगका लागि आह्वान गर्दै उनले सबै मिलेर बलियो शक्ति निर्माण गर्नुपर्ने बताए। साथै, गाउँमा गएर काम नगरेसम्म बाँझिएका खेतबारी हराभरा नहुने उल्लेख गर्दै उनले उत्पादन र रोजगारीमा ध्यान दिनुपर्ने आवश्यकता अल्याएका थिए ।
![]()

