बुटवल :-निर्वाचनको समय नजिकिँदै जाँदा उम्मेदवारहरूको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम तीव्र बनेको छ। पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार विष्णु प्रसाद पौडेल ले मंगलबार तिलोत्तमा नगरपालिका वडा नं. ५ मा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्।

बिहान सबेरैदेखि मतदाताको घरदैलोमा पुगेका पौडेलले यस क्षेत्रबाट निर्वाचित भई अर्थमन्त्रीका रूपमा रुपन्देहीको विकासमा योगदान दिएको उल्लेख गर्दै मतदातासँग सुझाव संकलन गरेका थिए। स्थानीय मतदाताले उनको अघिल्ला विकास योजना र पहलप्रति जानकारी राखेको र घरदैलोका क्रममा सकारात्मक प्रतिक्रिया दिएको बताइएको छ।

घरदैलोका साथै उनी मन्दिर, विद्यालय तथा विभिन्न संघसंस्थामा समेत पुगेका थिए। उनले तिलोत्तमास्थित श्री सरस्वती पञ्चायतन मन्दिर वैदिकाश्रम मा दर्शन गरी बटुकहरूसँग टीका ग्रहण गरेका थिए। मणिग्राम क्षेत्रमा एक युवाले पार्टीको झण्डासहित फूल प्रदान गर्दै अग्रिम विजयको शुभकामना दिएका थिए।
तिलोत्तमा–५ का संयोजक कृष्ण प्रसाद भट्टराईका अनुसार युवापुस्तामा देशको भविष्यप्रति चिन्ता रहेको र पुनः एकपटक यस क्षेत्रबाट पौडेललाई विजयी गराउन उनीहरू सक्रिय रूपमा लागेको बताए।
रुपन्देही निर्वाचन परिचालन कमिटीको आयोजनामा मंगलबार बिहानदेखि प्रचारप्रसार कार्यक्रम सञ्चालन गरिएको हो। पहिलो चरणको घरदैलो सम्पन्न भएपछि दोस्रो चरण सुरु गरिएको जनाइएको छ। मंगलबार नै तिलोत्तमा वडा नं. ६ मा पनि घरदैलो कार्यक्रम तय गरिएको छ।
बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिका समेटिएको क्षेत्रमा हरेक मतदातासम्म पुग्ने लक्ष्यसहित पौडेल दैनिक रूपमा घरदैलोमा सक्रिय छन्। कतिपय स्थानमा सवारीसाधन र कतिपय स्थानमा पैदल हिँडेर मतदाता भेट्ने क्रम जारी रहेको छ।
![]()

