रुकुमपूर्व: नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१२, कोलमा आयोजित चुनावी कार्यक्रममा बोल्दै अब विकास, निर्माण र समृद्धिको अभियान चलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रचण्डले दलित र मगर समुदायको विकासमा विशेष ध्यान दिने बताए। उनले भने,”हामीले दलित समुदायमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्नेछौं। म प्रधानमन्त्री हुँदा बनाउने योजना गरेको दलित विकास प्राधिकरण सरकार ढलेपछि रोकियो, अब उम्मेदवार बनेपछि यसमा पूर्ण शक्ति लगाउनेछु।”उनले दलित बाहुल्य क्षेत्रलाई संरक्षित क्षेत्र बनाएर समुदायलाई विशेष अधिकार दिन सकिने सम्भावना पनि औँल्याए।
सडक संरचनामा सुधारको प्रतिबद्धतासँगै प्रचण्डले पुथा उत्तरगंगा क्षेत्रलाई सड़क सञ्जालले जोड्ने योजनामा विशेष ध्यान दिने बताए। उनले भने,”हामी तकसेरा हुँदै शहीद मार्गबाट आएका छौं। तकसेरा–सानीभेरी–उत्तरगंगा–ढोरपाटन–बेनी सडक खण्ड छिचोली आवतजावत सहज बनाउनेछौं। निर्वाचित भएपछि बेनीसम्म विस्तार गर्नेछौं।”
जनयुद्धबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानले सबै वर्गको अधिकार सुनिश्चित गरेको स्मरण गर्दै प्रचण्डले अब फेरि समृद्धि र विकासका लागि नयाँ अभियान सुरु गर्नुपर्नेमा जोड दिए।
![]()

