धुर्कोट :-नेकपा (एमाले) धुर्कोट गाउँ कमिटीको आयोजनामा पार्टीको छैटौँ बैठक धुर्कोट गाउँपालिका अध्यक्ष लोकबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको छ। स्थानीय राजनीति, विकास निर्माण र आगामी निर्वाचनको तयारीलाई केन्द्रमा राख्दै सम्पन्न बैठकले पार्टी पंक्तिमा नयाँ उत्साह र ऊर्जा थपेको छ।
बैठकका प्रमुख अतिथि गुल्मी क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले) का केन्द्रीय नेता गोकर्णराज विष्ट रहनुभएको थियो। कार्यक्रममा सम्बोधन गर्दै विष्टले विगतमा सुरु भए पनि विभिन्न कारणले अधुरा रहेका विकास निर्माणका योजनाहरू अब ढिलाइ नगरी पहिलो प्राथमिकतामा राख्नुपर्ने स्पष्ट धारणा व्यक्त गर्नुभयो।

“जनताले कागजमा होइन, व्यवहारमै विकास देख्न चाहन्छन्,” भन्दै उहाँले जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पार्टी पंक्ति एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। जनताले प्रत्यक्ष अनुभूति गर्ने विकास गर्न सके आगामी निर्वाचनमा एमालेप्रतिको विश्वास अझ मजबुत हुने उहाँको भनाइ थियो।
बैठकमा पार्टी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा निर्वाचन केन्द्रित गतिविधिलाई तीव्र बनाउने विषयमा समेत विस्तृत छलफल भएको थियो। स्थानीय तहदेखि केन्द्रसम्म पार्टीका नीति, कार्यक्रम र योजनालाई जनतासँग जोड्दै लैजाने निष्कर्ष बैठकले निकालेको छ।
कार्यक्रमको सञ्चालन पार्टी सचिव अर्जुन भण्डारीले गर्नुभएको थियो।

