बुटवल :-पश्चिम नेपालको आर्थिक केन्द्र बुटवलमा पहिलो पटक पाँचतारे होटल ‘हायात प्लेस’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।
आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत होटल सञ्चालकहरूले सेवा सुरुवात गरिएको जानकारी दिएका हुन्।
बुटवल उपमहानगरपालिका–८ मा २५ कठ्ठा क्षेत्रफलमा फैलिएको यो होटल निर्माणमा ३ अर्ब ५० करोड रुपैयाँ लगानी गरिएको हो। करिब पाँच वर्षको अवधिमा निर्माण सम्पन्न भएको होटललाई नेपाली परम्परागत वास्तुकला र लुम्बिनीका सम्पदासँग मेल खाने डिजाइनमा तयार गरिएको छ।
होटल सञ्चालक समिति अध्यक्ष चुन्नप्रसाद पौडेलका अनुसार होटलमा एकपटकमा २ सय ५० जना पाहुना अट्ने क्षमता छ।
रुपन्देहीका प्रतिष्ठित उद्योगी पौडेल र उमाशंकर मालपानी परिवार, साथै ग्लोबल आईएमई बैंक र स्याफ्रोन सिकोको संयुक्त लगानीमा होटल निर्माण गरिएको हो।
अध्यक्ष पौडेलका अनुसार होटलमा स्तरीय क्यासिनो सञ्चालन गर्ने तयारी समेत भइरहेको छ।
तर उनले हालको राजनीतिक अस्थिरता र लगानी वातावरणको अनिश्चितताले पर्यटन क्षेत्र विस्तारमा चुनौती देखिएको बताए।
होटलको व्यवस्थापन अन्तर्राष्ट्रिय स्तरको हायात प्लेस समूहले गर्नेछ, जसले सन् २००६ देखि विश्वका ४२० भन्दा बढी स्थानमा सेवा विस्तार गरिसकेको छ।
होटल बुटवलको कुसुमपथमा अवस्थित छ। यहाँबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल – २५ किमि,लुम्बिनी – ४६ किमि, बेलहिया नाका -२८ किमि दूरीमा छन्।
होटलको प्रवेश भागमा चारवटा आकर्षक वास्तुकला खम्बा छन्।
होटलमा कुल १०९ कोठा छन्, जसलाई स्ट्यान्डर्ड, फरेस्ट भ्यु, हिल भ्यु, बाल्कोनी, एक्जिक्युटिभ स्विट्स र प्रेसिडेन्सियल स्विट गरी ६ श्रेणीमा वर्गीकरण गरिएको छ।
दुई तला अन्डरग्राउन्ड पार्किङ भएको होटलको दोस्रो तलामा ‘जिङ रेस्टुरेन्ट’ रहेको छ, जसमा १४७ जना पाहुना अट्न सक्छन्।
रेस्टुरेन्टको डिजाइन मन्दिरको घण्टी र मायादेवी मन्दिरका इँटाबाट प्रेरित गरिएको छ र यो दिनभरि खुला रहने सुविधा सहित सञ्चालनमा छ।
होटलमा १,००१ वर्गमिटरको सभागृह छ, जहाँ ठूला सम्मेलन र विवाह समारोह गर्न सकिन्छ।
साथै, साना–ठूला बैठक हल, आधुनिक जिम, स्पा, ज्याकुजी, पौडी पोखरी, र बालबालिकाका लागि खेल्ने क्षेत्र पनि रहेको छ।
अध्यक्ष पौडेलले भने “हायात प्लेस बुटवलले पश्चिम नेपालको पर्यटन र हस्पिटालिटी क्षेत्रमा नयाँ अध्याय सुरु गर्नेछ। हामीले स्थानीय संस्कृतिसँग जोडिएको आधुनिक सुविधायुक्त होटल निर्माण गरेका छौं।”

