गुल्मी :- धुर्कोट गाउँपालिकामा यस वर्षको एसईई २०८२ को नतिजा उत्साहजनक देखिएको छ। गाउँपालिकाभर कुल ८३.१२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नतिजाले विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय प्रशासनमा नयाँ उत्साह थपेको छ।

यस वर्ष धुर्कोटका तीन विद्यालयले सतप्रतिशत नतिजा निकाल्न सफल भएका छन्। सोमरभोमर माध्यमिक विद्यालयले गत वर्षझैँ यस वर्ष पनि शतप्रतिशत नतिजा कायम राख्दै उत्कृष्टता दोहोर्याएको छ। त्यसैगरी हिमालय माध्यमिक विद्यालय र वाग्ला माध्यमिक विद्यालयले पनि सतप्रतिशत नतिजा ल्याउन सफलता हासिल गरेका छन्।
नतिजामा सबैभन्दा उत्कृष्ट जिपिए ३.७९ अमृत छन्तेलले प्राप्त गरेका छन्। सोमरभोमर माध्यमिक विद्यालयका विद्यार्थी छन्तेल धुर्कोट गाउँपालिकाकै उत्कृष्ट विद्यार्थी बन्न सफल भएका हुन्।

शिक्षा क्षेत्रमा धुर्कोटका विद्यालयले देखाएको निरन्तर मेहनत र विद्यार्थीको लगनशीलताले आगामी दिनमा अझ राम्रो शैक्षिक वातावरण निर्माण हुने अपेक्षा गरिएको छ।
गाउँपालिकाभरका सफल विद्यार्थीहरूलाई स्थानीय तह, शिक्षक तथा अभिभावकले हार्दिक बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्।

