काठमाडौँ:- निर्वाचन आयोग नेपाल ले मत सर्वेक्षण ‘लाइभ’ प्रसारणमा संलग्न ११ वटा अनलाइन सञ्चारमाध्यमलाई बन्द गर्न निर्देशन दिएको छ।

आयोगले यही फागुन २१ गते हुन लागेको निर्वाचनको सन्दर्भमा आचारसंहिताविपरीत मत सर्वेक्षणको लाइभ प्रसारण गरेको भन्दै ती अनलाइनमाथि कारबाही गर्न सम्बन्धित निकायलाई सिफारिस गरिएको जनाएको छ। आयोगकी सहप्रवक्ता सीता पुनका अनुसार मतदातालाई अनावश्यक प्रभाव पार्ने गतिविधि रोक्न यस्तो निर्णय गरिएको हो।
निर्वाचन आयोगको सहकार्यमा पत्रकार महिलाका लागि आयोजित ‘निर्वाचन समाचार र आचारसंहितासम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा सहप्रवक्ता पुनले अन्य देशको तुलनामा नेपालको परिवेश फरक रहेको उल्लेख गर्दै मतदातालाई स्वतन्त्र रूपमा जनप्रतिनिधि चुन्ने अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो। “मत सर्वेक्षणले मतदातालाई एक प्रकारको ह्वीममा लैजान सक्छ, त्यसैले आचारसंहिताले यसलाई बाँध्नुपरेको हो,” उहाँले भन्नुभयो।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ अनुसार निर्वाचन आचारसंहिता उल्लङ्घन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी रद्दसम्मको व्यवस्था रहेको छ। सहप्रवक्ता पुनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।
आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै गत माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ। फागुन १८ गते राति १२ बजेदेखि सुरु हुने मौन अवधिमा कुनै पनि सञ्चारमाध्यम वा सामाजिक सञ्जालबाट प्रचारमूलक सामग्री प्रकाशन तथा प्रसारण गर्न नपाइने जनाइएको छ। निर्वाचनका लागि आयोगले चार हजार ३०० जना पर्यवेक्षक विभिन्न निर्वाचन क्षेत्रमा खटाएको जनाएको छ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ का अध्यक्ष निर्मला शर्माले ‘निर्वाचनमा पत्रकार आचारसंहिता’ विषयक कार्यपत्र प्रस्तुत गर्दै समाचार सामग्री तयार गर्दा पत्रकार आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले गोपनीयताको सम्मान, व्यावसायिक आचरण र क्षेत्र, लिङ्ग, भाषा तथा संस्कृतिप्रति संवेदनशील रहँदै समाचार सम्प्रेषण गर्नुपर्ने उल्लेख गर्नुभयो। साथै, सूचना निजी स्वार्थपूर्तिका लागि प्रयोग गर्न नहुनेमा समेत उहाँले जोड दिनुभयो।

