काठमाडौं :- नेपाली गीत–संगीत र चलचित्र क्षेत्रमा सक्रिय स्रष्टा तथा कलाकारलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजित तेस्रो ‘राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा लोकप्रिय गायक मोतिराज खनालले यस वर्षको ‘सर्वोत्कृष्ट भजन गायक’को अवार्ड हात पारेका छन्।
ओप्सना फिल्म्सको आयोजनामा आइतबार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।

आयोजक संस्थाका निर्देशक ओमप्रकाश राईको सभापतित्व तथा विशिष्ट कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको समारोहमा गीत–संगीत तथा चलचित्र क्षेत्रका विभिन्न विधाका स्रष्टा र कलाकारलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो।
‘सङ्गीत नै हो हाम्रो नाम, सङ्गीत नै हो हाम्रो पहिचान’ भन्ने मूल नारासहित विगत तीन वर्षदेखि आयोजना हुँदै आएको अवार्डमा यसपटक पब्लिक च्वाइससहित कुल २४ विधामा अवार्ड वितरण गरिएको आयोजकले जनाएको छ।

समारोहमा नेपाली संगीत क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएका विशिष्ट गायक दीपक खरेल र वरिष्ठ गीतकार बुद्धवीर लामालाई ‘सङ्गीत जीवन साधना सम्मान’ प्रदान गरिएको थियो। वरिष्ठ गायक आनन्द कार्की र प्रदीपराज पाण्डे ‘विशिष्ट गायन रत्न सम्मान’बाट सम्मानित भए।
त्यस्तै निखिल उप्रेती, सञ्चिता लुइँटेल र पूजना प्रधान गुरुङलाई विशिष्ट चलचित्रकर्मी सम्मान प्रदान गरिएको थियो। अशोक मुकारुङलाई गायक तथा संगीतकार सम्मान, किशोर झालाई चलचित्रकर्मी सम्मान, पुष्कर सुनुवारलाई गायक सम्मान, चित्र आठपहरियालाई गायक तथा संगीतकार सम्मान र सुनिता कुँवरलाई ट्याटु कलाकार सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। प्रशान्त पाराङदेन लिम्बू र कविता राईलाई समेत सम्मान गरिएको थियो भने श्रीकृष्ण विष्टले निर्माता सम्मान तथा निमा शेर्पाले गायक सम्मान प्राप्त गरे।
यसैबीच समारोहमा मोतिराज खनाल सर्वोत्कृष्ट भजन गायक घोषित हुँदै अवार्ड प्राप्त गर्न सफल भए। लोक तथा सांगीतिक क्षेत्रमा सक्रिय खनालका लागि भजन गायनतर्फ प्राप्त यो सम्मान अर्को महत्वपूर्ण उपलब्धिका रूपमा जोडिएको छ।
अन्य विधातर्फ ‘यो देशले तिम्रो’ सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत घोषित हुँदा चन्द्र जयपाल राई सर्वोत्कृष्ट गीतकार, तपस्या राई सर्वोत्कृष्ट पप गायिका, ज्ञानदिप सुवेदी सर्वोत्कृष्ट पुरुष मोडल, सोम गुरुङ सर्वोत्कृष्ट लोक गायक र सुरेश राई सर्वोत्कृष्ट संगीतकार बने।
किशोर सुब्बाले सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक, मेघराज रानोहन्छाले सर्वोत्कृष्ट आधुनिक गायक, सुनिता राईले सर्वोत्कृष्ट लोक आधुनिक गायिका, मेनुका राईले सर्वोत्कृष्ट युगल गायिका र कुमार केरुङले सर्वोत्कृष्ट आधुनिक गीतकारको अवार्ड प्राप्त गरे। भीमकुमार तुम्बापो सर्वोत्कृष्ट लिम्बू पालाम गायक, मोहन सुनुवार सर्वोत्कृष्ट भिडियो सम्पादक, सुमी चाम्लिङ राई सर्वोत्कृष्ट लोक पूर्वेली गायिका तथा स्वेता कार्की तीज गीत विधामा पुरस्कृत भए। शिवजी क्षेत्रीले लोक युगल निर्देशक र हस्तबहादुर लिबाङ (लिम्बू)ले वर्षका उत्कृष्ट चलचित्र निर्देशकको अवार्ड प्राप्त गरे।
जनमत अर्थात् पब्लिक च्वाइसतर्फ बबिना किराँती र सुमन राई सर्वोत्कृष्ट युगल गायक, टेक तामाङ सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत, मीरा देवी राई सर्वोत्कृष्ट गीतकार, सरगम राई सर्वोत्कृष्ट पप गायिका, रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायक तथा कुबेर तामाङ सर्वोत्कृष्ट भिडियो निर्देशक घोषित भए।
अवार्डको निर्णायक मण्डलमा संगीतकार राजु सिंह, संगीतकार तथा संगीत संयोजक अशोक लोहोरुङ राई, चलचित्र निर्देशक तथा कलाकार उदय सुब्बा र हास्य कलाकार दिवाकर भण्डारी रहेका थिए। कार्यक्रम सेसेमी लिम्बूले सञ्चालन गरेकी थिइन् भने अवार्ड कमिटीकी प्रमुख संयोजक पेमा शेर्पा राईले अतिथिहरूलाई स्वागत गरेकी थिइन्।
समारोहमा वरिष्ठ चलचित्र निर्देशक सागर सुब्बा, वरिष्ठ सर्जक तथा कलाकार हस्त लिबाङ, गीतकार डी.आर., सङ्गीत उद्योग सङ्घका अध्यक्ष सूर्यबहादुर मगर तथा सञ्चारकर्मी माधवराज खरेल र तुलसी गिरी ‘भावुक’लगायतको उपस्थिति थियो।
तीन संस्करणसम्म आइपुगेको राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्डले स्थापित कलाकारको योगदानलाई सम्मान गर्नुका साथै नयाँ र सक्रिय प्रतिभालाई थप सिर्जनशील यात्राका लागि प्रोत्साहन गर्ने प्रयास गरेको छ। यस वर्ष सर्वोत्कृष्ट भजन गायकका रूपमा मोतिराज खनालले प्राप्त गरेको उपाधिले उनको सांगीतिक यात्रामा अर्को सम्मान थपेको छ।

