काठमाडौं :- वरिष्ठ गीतकार तथा सङ्गीतकार कस्तुप पन्तले सङ्गीत रोयल्टी सङ्कलन समाजबाट सर्वाधिक चार लाख रुपैयाँ रोयल्टी प्राप्त गरेका छन्।

शुभदीपावली तथा छठ पर्वको अवसरमा समाजले बुधबार आयोजना गरेको कार्यक्रममा पन्तसहित ६ सयभन्दा बढी गीतकार तथा सङ्गीतकारलाई रोयल्टी वितरण गरिएको हो।
समाजका अनुसार यसपटक वितरण गरिएको रोयल्टी एनसेलको पीआरबीटी (PRBT) र टिकटकबाट संकलित रकम हो। टिकटकबाट सन् २०२६ असारसम्म र एनसेलबाट सन् २०२५ नोभेम्बरसम्म संकलित रोयल्टी स्रष्टालाई वितरण गरिएको हो।

सर्वाधिक रोयल्टी प्राप्त गर्नेमा सङ्गीतकार राजनराज शिवाकोटी दोस्रो र गायक तथा सङ्गीतकार दुर्गेश थापा तेस्रो स्थानमा रहेका छन्।
सङ्गीत रोयल्टी सङ्कलन समाजका महासचिव चन्द्र शर्माका अनुसार कार्यक्रममा ६ सयभन्दा बढी स्रष्टालाई रोयल्टी प्रदान गरिएको हो।
कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव भूपेन्द्र रायमाझी र नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयकी रजिस्ट्रार सुशीला कार्कीलगायतले स्रष्टाहरूलाई रोयल्टी हस्तान्तरण गरेका थिए।
कार्यक्रममा समाजका सदस्य तथा वरिष्ठ गीतकार प्रमोद ढुङ्गाना र महासचिव शर्मालगायतले रोयल्टी संकलन तथा वितरण प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
सङ्गीत सिर्जना गरेर श्रोता तथा दर्शकमाझ पुर्याउने स्रष्टाले आफ्नो सिर्जनाको प्रयोगबापत उचित पारिश्रमिक पाउनुपर्ने विषयलाई यस कार्यक्रमले पुनः चर्चामा ल्याएको छ।


