बुटवल :-रसुवामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको राहत र पुनःस्थापनामा हातेमालो गर्दै रूपन्देहीको अन्नपूर्ण एग्रो इन्डष्ट्रिज प्रा.लि.ले ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।

तिलोत्तमा–१६, मधवलिया, रूपन्देहीमा रहेको कम्पनीले बाढीपीडित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
बाढीले धेरै परिवारलाई घरबारविहीन बनाउनुका साथै उनीहरूको दैनिकी र जीविकोपार्जनमा समेत गम्भीर असर पारेको अवस्थामा पीडितसँग ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको कम्पनीले जनाएको छ।
‘विपत्तिमा साथ, समाजप्रति हाम्रो दायित्व’

राष्ट्रिय विपत्तिका बेला व्यावसायिक प्रतिष्ठानको भूमिका व्यवसायमा मात्रै सीमित नहुने भन्दै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्न पाउँदा आफ्नो दायित्व निर्वाह गरेको अनुभूति भएको जनाएको छ।
‘विपत्तिमा साथ, समाजप्रति हाम्रो दायित्व’ भन्ने भावनासहित कम्पनीले सामाजिक तथा मानवीय उत्तरदायित्वका कामलाई निरन्तरता दिँदै आएको उल्लेख गरेको छ।
अन्नपूर्ण एग्रो इन्डष्ट्रिजले विपद्को यो कठिन घडीमा पीडित परिवारलाई राहत र पुनःस्थापनामा सहयोग गर्न अन्य उद्योगी, व्यवसायी, संघसंस्था तथा सर्वसाधारणलाई समेत आ–आफ्नो सामर्थ्यअनुसार हातेमालो गर्न आग्रह गरेको छ।
विपद्ले निम्त्याएको क्षति एउटा परिवार वा एउटा क्षेत्रको मात्रै पीडा नभई सिंगो समाजको साझा पीडा भएको उल्लेख गर्दै कम्पनीले यस्तो समयमा गरिने हरेक सहयोगले प्रभावित परिवारलाई पुनः सामान्य जीवनतर्फ फर्किन आशा र आधार प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।
संकटको समयमा सहयोगको रकमभन्दा पनि पीडितको साथमा उभिने भावना महत्वपूर्ण हुन्छ। अन्नपूर्ण एग्रो इन्डष्ट्रिजको ११ लाख ११ हजार १११ रुपैयाँको सहयोगले निजी क्षेत्र पनि विपद्को घडीमा सामाजिक उत्तरदायित्वसहित अगाडि आउन सक्छ भन्ने सन्देश दिएको छ।

