बुटवल :- उमेरले १३ वर्ष मात्रै। तर प्रतिभा र लगनशीलताले धेरैको ध्यान खिच्न सफल भएका छन् अर्घाखाँचीका विश्व खनाल। सानै उमेरमा बाँसुरी वादनमा देखाएको अद्भुत रुचि र प्रस्तुतिले उनी प्रशंसाका पात्र बनेका छन्।

भूमिकास्थान नगरपालिका–२, ढाकावाङका विश्व हाल बुटवलस्थित नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय, देवीनगरमा कक्षा ८ मा अध्ययनरत छन्। पढाइमा अब्बल उनी विद्यालयका अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट स्थान हासिल गर्दै आएका छन्।
विश्वको विशेष रुचि भने बाँसुरी वादनमा छ। अझ रोचक कुरा, उनले कुनै औपचारिक प्रशिक्षणबिना घरमै युट्युब तथा मोबाइल टिभी हेरेर बाँसुरी बजाउन सिकेका हुन्। आफ्नै अभ्यास र निरन्तरको प्रयासबाट उनले बाँसुरीमा मिठा धुन निकाल्न सक्ने भएका छन्।

हालै ढाकावाङ–रुपन्देही सम्पर्क समाजले आयोजना गरेको मौलिक देउसी–भैलो कार्यक्रममा विश्वले बाँसुरी बजाएर आफ्नो प्रतिभा प्रस्तुत गरे। उनको प्रस्तुतिले कार्यक्रममा उपस्थित दर्शक तथा सहभागीको मन जित्यो।
सानै उमेरमा अध्ययनसँगै कला र संस्कृतिप्रति देखाएको लगावले विश्वको प्रतिभालाई थप उजागर गरेको छ। उचित अवसर, प्रोत्साहन र प्रशिक्षण पाउन सके उनी भविष्यमा बाँसुरी वादनको क्षेत्रमा अझै अघि बढ्न सक्ने सम्भावना देखिन्छ।
विश्वको यो प्रयासले प्रतिभा देखाउन ठूलो उमेर वा औपचारिक प्रशिक्षण मात्रै आवश्यक हुँदैन, रुचि, अभ्यास र निरन्तर मेहनत पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने सन्देश दिएको छ।


