काठमाडौं :-नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण विभागको टोलीले सोमबार सुर्खेतबाट उनलाई नियन्त्रणमा लिएको हो।

विभागले पक्राउअघि ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा खानतलासी गरेको र केही कागजातसमेत नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।
विभागसँग सम्बद्ध स्रोतका अनुसार पौडेलको सेयर कारोबार तथा सम्पत्तिको स्रोतबारे अनुसन्धान भइरहेको छ। अनुसन्धानकै क्रममा राज्य संयन्त्रमा रहँदा विभिन्न व्यापारिक तथा स्वार्थ समूहलाई लाभ पुग्ने निर्णयहरू गरिएको र त्यसबाट प्रत्यक्ष वा अप्रत्यक्ष लाभ लिएको हुन सक्ने विषयमा समेत अध्ययन भइरहेको बताइएको छ।
विभाग स्रोतका अनुसार अन्य व्यक्तिमाथिको अनुसन्धानका क्रममा प्राप्त सूचनाका आधारमा पौडेलमाथि पनि थप अनुसन्धान अघि बढाइएको हो। अनुसन्धानको दायरामा रहेका अन्य मुद्दाको क्रममा अदालतलाई समेत थप अनुसन्धान भइरहेको जानकारी गराइएको स्रोतको दाबी छ।

हाल पौडेललाई काठमाडौं ल्याउने तयारी भइरहेको छ। विभागका अनुसन्धान अधिकारीहरूले मंगलबार विशेष अदालतमा उपस्थित गराई म्याद थपको प्रक्रिया अघि बढाउने तयारी गरेका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरू विशेष अदालतमा दायर हुने व्यवस्था छ।
सुर्खेतको होटलबाट नियन्त्रणमा
एमालेको पार्टी पुनर्गठन तथा सुझाव संकलन कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई पक्राउ पुर्जी जारी भएपछि स्थानीय शुभ होटलबाट नियन्त्रणमा लिइएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको थियो। त्यसपछि स्थलमार्गबाट नेपालगञ्ज लगिएको र त्यहाँबाट मंगलबार बिहान हवाइमार्गमार्फत काठमाडौं ल्याउने तयारी गरिएको स्रोतले जनाएको छ।
आठ पटक मन्त्री, पाँच पटक अर्थमन्त्री
विष्णु पौडेल नेपालको राजनीतिक इतिहासमा सबैभन्दा धेरै पटक अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने नेतामध्ये एक हुन्। उनी आठ पटक मन्त्री बनेका छन् भने पाँच पटक अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। तीन पटक उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएका थिए।
संघीय संसद् सचिवालयको विवरणअनुसार उनले २०५३ सालमा युवा, खेलकुद तथा संस्कृति मन्त्रालयको नेतृत्व गरेका थिए। त्यसपछि २०६५ मा जलस्रोत मन्त्री, २०६७ मा रक्षामन्त्री तथा २०७२ मा पहिलो पटक अर्थमन्त्री बने।
त्यसपछि २०७७, २०७८, २०७९ र २०८१ मा पनि उनले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
लामो संसदीय यात्रा
२०५१ सालको मध्यावधि निर्वाचनबाट पाल्पाबाट प्रतिनिधिसभामा प्रवेश गरेका पौडेल २०६४ सालको संविधानसभा निर्वाचनयता निरन्तर संसद्मा प्रतिनिधित्व गर्दै आएका थिए। २०७० को दोस्रो संविधानसभा निर्वाचन, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनले विजय हासिल गरेका थिए।
तर २०८२ सालको निर्वाचनमा रुपन्देही–२ बाट पराजित भएपछि उनी संसदबाहिर रहेका छन्।
चार दशकभन्दा लामो राजनीतिक यात्रा
२०३४ सालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय रहेका पौडेल एमालेभित्र प्रभावशाली नेताका रूपमा परिचित छन्। उनी दुई कार्यकाल पार्टी उपाध्यक्ष भइसकेका छन् भने २०७५ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिवसमेत बनेका थिए।
हाल उनी एमालेको संगठन पुनर्गठन अभियानमा सक्रिय थिए। पछिल्लो समय पार्टीलाई पुनर्संरचना र पुनर्गठन आवश्यक रहेको धारणा सार्वजनिक रूपमा राख्दै आएका थिए।
यद्यपि, पौडेलमाथि लागेका आरोपबारे सम्बन्धित निकायबाट औपचारिक आरोपपत्र सार्वजनिक हुन बाँकी छ। उनको व्यक्तिगत प्रतिक्रिया पनि हालसम्म प्राप्त हुन सकेको छैन।

