काठमाडौं :- बुढानिलकण्ठ नगरपालिका वडा नं. ५ का अध्यक्ष कृष्ण साही ठकुरीले नागरिकमैत्री, पारदर्शी र प्रभावकारी सेवा प्रवाहलाई आफ्नो पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।

वडा नं. ५ मा पछिल्लो समय पूर्वाधार विकास, सामाजिक उत्तरदायित्व, सुशासन तथा नागरिकको सहज पहुँचलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। सडक स्तरोन्नति, ढल व्यवस्थापन, खानेपानी, सार्वजनिक स्थल संरक्षण, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारमा वडाले विशेष ध्यान दिएको अध्यक्ष ठकुरीको भनाइ छ।
वडावासीको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर विकास निर्माणका काम योजनाबद्ध रूपमा अघि बढाइएको बताउँदै अध्यक्ष ठकुरीले जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयले सेवा प्रवाहलाई थप प्रभावकारी बनाएको उल्लेख गरे।

उनका अनुसार सिफारिस, घटना दर्ता, सामाजिक सुरक्षा भत्ता लगायतका सेवामा सरलता ल्याइएको छ। साथै सार्वजनिक सुनुवाइ, उपभोक्ता समितिको सक्रियता तथा नागरिक सहभागितामार्फत सुशासनको अभ्यासलाई संस्थागत गर्ने प्रयास भइरहेको छ।
“नागरिकले सहज, छिटो र पारदर्शी सेवा पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो। त्यसैले नागरिकमैत्री सेवा हाम्रो प्राथमिकता बनेको छ,” अध्यक्ष ठकुरीले भने।
उनले विकासलाई केवल भौतिक संरचना निर्माणमा सीमित नराखी नागरिकको जीवनस्तर उकास्ने अभियानका रूपमा अघि बढाइएको बताए। आगामी दिनमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा तथा महिला सशक्तीकरणका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै वडा नं. ५ लाई नमुना वडाका रूपमा विकास गर्ने लक्ष्य रहेको उनको भनाइ छ।
“नागरिकको विश्वास नै हाम्रो शक्ति हो। जनअपेक्षा अनुसार पारदर्शी, जवाफदेही र परिणाममुखी सेवा दिनु हाम्रो दायित्व हो,” अध्यक्ष कृष्ण साही ठकुरीले बताए।

