काठमाडौं :- जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले आयोगलाई धन्यवाद दिँदै सीमित स्रोत र साधनका बाबजुद पनि आयोगले काम सम्पन्न गरेकोमा प्रशंसा गरिन्। उनले आयोगले घटनासम्बन्धी सत्यतथ्य स्पष्ट पार्दै ‘दूधको दूध, पानीको पानी’ छुट्याएको विश्वास व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले सुरक्षा तथा गोपनीयताको कारण प्रतिवेदनको पूर्णपाठ सार्वजनिक नगरिने तर यसको मुख्य निष्कर्ष भने सार्वजनिक गरिने संकेत पनि दिएकी छन्।
गत भदौ २३ र २४ गते भएका घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न उक्त आयोग गठन गरिएको थियो। तेस्रो पटक थपिएको म्याद सकिनुभन्दा एक दिनअघि आयोगले प्रतिवेदन बुझाएको हो।
जेनजी आन्दोलनपछि कार्की नेतृत्वमा अन्तरिम चुनावी सरकार गठन भएसँगै असोज ५ गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिएको थियो। आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी सदस्य रहेका थिए।
![]()

