बुटवल:- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै गुल्मी–१ बाट २०७९ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका दामोदर भण्डारीले पार्टी परित्यागको घोषणा गरेका छन्।

भण्डारीले सामाजिक सञ्जालमार्फत पार्टीको साधारण सदस्यता तथा आफूले सम्हाल्दै आएको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिएका हुन्।
उनले योगदान, त्याग र इमान्दारीभन्दा पहुँच र प्रभावलाई प्राथमिकता दिएर उम्मेदवार छनोट गरिएको आरोप लगाएका छन्। प्रक्रियाविहीन तथा अपारदर्शी ढंगबाट उम्मेदवार चयन गरिएको उल्लेख गर्दै उनले पार्टी केन्द्रको व्यवहारले आफ्नो विश्वास डगमगाएको बताएका छन्।

उनले लेखेका छन्, ‘उम्मेदवार छनोटको निर्णायक चरणमा आइपुग्दा, पार्टी केन्द्रले देखाएको व्यवहारले मेरो विश्वासको जगलाई गहिरो रूपमा हल्लायो। योगदान, त्याग र इमानदारीभन्दा पहुँच, प्रभाव र क्षणिक लोकप्रियतालाई प्राथमिकता दिने अभ्यास देखियो।
योग्य र इमानदार बिउलाई पाखा लगाउँदै, प्रक्रियाविहीन र अपारदर्शी तरिकाले उम्मेदवार छनोट हुनु पार्टीले स्वयं बोलेको विधि, मूल्य र राजनीतिक नैतिकतासँग गम्भीर रूपमा बाझिएको मैले अनुभूति गरेँ।’
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा उनले गुल्मी–१ बाट प्रत्यक्षतर्फ १ हजार ८८२ मत र समानुपातिकतर्फ सो क्षेत्रमा ८ हजार ११६ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका थिए।उक्त क्षेत्रबाट रास्वपाले यस पटक सागर ढकाललाई उम्मेदवार बनाएको छ।

