बुटवल :- नेपाली काँग्रेसबाट रुपन्देही–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले ‘आश्वासन होइन, आधार’ निर्माण गर्ने प्रतिबद्धतासहित आफ्ना चुनावी एजेन्डा सार्वजनिक गर्नुभएको छ।
बाग्लुङको सामान्य परिवारबाट उदाउँदै उद्योग, स्वास्थ्य र पर्यटन क्षेत्रमा सक्रिय रहँदै अर्थतन्त्रमा योगदान पुर्याएको अनुभवलाई राजनीतिमा लागू गर्ने उहाँको भनाइ छ। ‘करेन्ट चाउचाउ’ ब्रान्डमार्फत नेपाली अकबरे खुर्सानीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याएर हजारौँ किसानलाई बजार सुनिश्चित गरेको दाबी गर्दै अब त्यही मोडल रुपन्देहीमा विस्तार गर्ने योजना अघि सार्नुभएको हो।

🎯 प्रमुख संकल्प र एजेन्डा
१️. बुटवलको आर्थिक पुनर्जीवन
सुस्ताएको बुटवललाई पुनः लुम्बिनी प्रदेशको व्यापारिक केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ। साना व्यवसायीका लागि सहज ऋण, स्थिर बजार नीति र बन्द सटरको अवस्थाको अन्त्य गर्दै व्यापारिक आत्मविश्वास फर्काउने प्रतिबद्धता जनाइएको छ।
२️. कृषि–उद्योग लिङ्केज
किसानको उत्पादनलाई सिधै उद्योगसँग जोड्ने नीति अघि सारिएको छ। खेतमा उत्पादन भएर पनि बजार नपाउने अवस्थाको अन्त्य, सिँचाइ सुविधा विस्तार तथा मल–बीउको समयमै उपलब्धता सुनिश्चित गर्ने एजेन्डा समेटिएको छ।

३️.युवा तथा रोजगारी
युवालाई वैदेशिक रोजगारीमा निर्भर नभई स्वदेशमै उद्यम र रोजगारीमा आकर्षित गर्ने योजना अघि सारिएको छ। शैक्षिक संस्थाको पढाइ र उद्योगको आवश्यकता बीच समन्वय गर्ने तथा मोतिपुर औद्योगिक क्षेत्रलाई रोजगारीको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
४️. पूर्वाधार विकास
नारायणगढ–बुटवल सडक खण्डको निर्माण ढिलासुस्ती अन्त्य गरी शीघ्र सम्पन्न गराउने, बुटवलका भित्री सडकलाई धुलोमुक्त र व्यवस्थित बनाउने तथा बुटवल–सैनामैना–तिलोत्तमालाई जोड्ने आधुनिक यातायात सञ्जाल विकास गर्ने योजना सार्वजनिक गरिएको छ।
५️.भूमि व्यवस्था
सुकुम्बासी समस्याको दीर्घकालीन समाधान, तिनाउ किनार क्षेत्रका बस्ती व्यवस्थापन तथा वास्तविक भूमिहीनलाई लालपुर्जा वितरण गर्ने प्रतिबद्धता जनाइएको छ। जोखिमपूर्ण बस्तीमा पहिरो नियन्त्रण र सुरक्षित बसोबास सुनिश्चित गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।
६️. स्वास्थ्य क्षेत्र सुधार
लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने तथा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)लाई मेडिकल कलेजमा स्तरोन्नति गर्ने योजना अघि सारिएको छ। उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने लक्ष्य लिइएको छ।
७- खानेपानी र सरसफाइ
बढ्दो सहरीकरणलाई ध्यानमा राख्दै दीर्घकालीन खानेपानी आयोजना, वैज्ञानिक फोहोर व्यवस्थापन प्रणाली, हरियाली तथा पार्क निर्माणमार्फत ‘बस्न योग्य सहर’ निर्माण गर्ने एजेन्डा समावेश गरिएको छ।
उम्मेदवार पौडेलले आफू ‘समस्या गन्ने होइन, समाधान दिने’ राजनीतिमा विश्वास गर्ने बताउँदै मतदातासँग समर्थनको अपिल गर्नुभएको छ।

