बुटवल:- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीका निर्वाचन क्षेत्र नम्बर १ र २ का लागि उम्मेदवार टुंगो लगाएको छ। पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कोटाबाट यी दुई क्षेत्रमा उम्मेदवार सिफारिस भएको स्रोतले जनाएको छ।

रुपन्देही–१ बाट बालेन साह निकट मानिने सुनिल लम्साल र रुपन्देही–२ बाट इञ्जिनियर आशिष सुवेदी ले टिकट पाएका हुन्। लम्साल बालेन साह काठमाडौं महानगरपालिकाका मेयर रहँदा वातावरण सल्लाहकारका रूपमा कार्यरत थिए भने हाल रास्वपाको महामन्त्री पदका दाबेदारसमेत रहेका छन्।

रुपन्देही–२ मा सुवेदीले एमाले उपाध्यक्ष तथा प्रभावशाली नेता विष्णु पौडेलसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने भएका छन्। तिलोत्तमा निवासी सुवेदी विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। उनी लुम्बिनी इन्जिनियरिङ कलेज (लेक) मा अध्ययनरत रहँदा अखिल (क्रान्तिकारी) बाट स्ववियू सभापति निर्वाचित भएका थिए।
रास्वपामा नयाँ अनुहारका रूपमा देखिएका सुवेदीलाई पार्टीले युवामुखी र वैकल्पिक राजनीतिको प्रतिनिधि पात्रका रूपमा अघि सारेको विश्लेषण गरिएको छ।
यसैबीच, रास्वपा रुपन्देही–३ का सभापति मधु अर्याल ले रुपन्देही–१ मा सुनिल लम्साल र रुपन्देही–२ मा आशिष सुवेदी उम्मेदवार भएको जानकारी दिएका छन्।
रास्वपाको यो निर्णयसँगै रुपन्देही–२ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने संकेत देखिएको छ।
![]()

