बुटवल:- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले अर्घाखाँचीमा बरामद भएको विस्फोटक पदार्थ नष्ट गरेको घटनाको विरोधमा बुटवलमा मसाल जुलुस निकाल्दा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

शनिबार साँझ मिलनचोकबाट सुरु भएको जुलुस राजमार्ग चौराहामा पुग्दा कोणसभामा परिणत भएको थियो। चौराहामा प्रहरीको हस्तक्षेपपछि नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल समाजवादीका तीन नेता पक्राउ परेका हुन्।
पक्राउ परेकाहरूमा अखिल समाजवादीका केन्द्रिय सचिवालय सदस्य पदम नेपाली ‘तुफान’, जिल्ला इन्चार्ज राजेश नेपाली ‘बारुद’ र रुपन्देही अध्यक्ष कुमार नेपाली ‘बिराट’ रहेका छन्। उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ।
यसअघि शुक्रबार अर्घाखाँची प्रहरीले गस्तीका क्रममा कम्युनल गोठबाट भरूवा बन्दुक दुई थान, ग्रिनेड १४ वटा, डेटोनेटर १२ वटा, लामो लन्चर जस्तो प्लास्टिक पाइप ३ वटा, प्रेसर कुकर बम, स्टिलको बम, बिजुलीको तार ४ बन्डल, ५ सय ग्राम बारूद जस्ता विस्फोटक पदार्थ बरामद गरी नेपाली सेनाको सहायतामा नष्ट गरेको थियो।
नेकपा माओवादी रुपन्देहीले प्रहरीले अनावश्यक बल प्रयोग गरेको भन्दै आपत्ति जनाएको छ र गिरफ्तार नेता–कार्यकर्तालाई तत्काल रिहा नगरे कडा आन्दोलनको चेतावनी दिएको छ।
![]()

