बुटवल :- बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा दुई विधाको उपाधि आयोजक बुटवल ब्याडमिन्टन क्लबका खेलाडीले जितेका छन् भने एक विधामा लाफा क्लब विजयी भएको छ।

प्रतियोगिताको मेन्स डबलतर्फ बुटवल ब्याडमिन्टन क्लबका विवेक न्यौपाने र डेभिड थापाले उपाधि जिते। भेट्रान्स डबल (५५ वर्षमाथि)तर्फ पनि बुटवल क्लबकै गोपाल टण्डन र नवराज श्रेष्ठ विजेता बने।
यस्तै मास्टर भेट्रान्स डबलतर्फ भने लाफा क्लबका प्रसाद गुरुङ र पुरन गाहाले उपाधि चुमे।मेन्स डबलमा बुटवल क्लबका विश्वास नेपाल र गणेश रायमाझी दोस्रो भए भने लाफा क्लबका विनोद पौडेल–अरबिन्द्र श्रीपाली तथा हिमान्सु कवर–सुविन श्रेष्ठ तेस्रो भए।

भेट्रान्स डबल (५५ वर्षमाथि) मा लाफाका राजु गुरुङ र दिलीप श्रेष्ठ दोस्रो भए भने निरबहादुर राना–खगेन्द्र रेग्मी (गुल्मी) तथा गणेश क्षेत्री–जगत श्रेष्ठ (नेपालगन्ज) तेस्रो भएका छन्।
मास्टर भेट्रान्स डबलतर्फ बुटवल ब्याडमिन्टन क्लबका महेश्वर नेपाल र अशोक क्षेत्री दोस्रो भए भने थमन सारु–सुरज गुरुङ (तिलोत्तमा ब्याडमिन्टन क्लब) तथा नारायण तिवारी–बालदर गोदार (बुटवल क्लब) तेस्रो भएका अम्पायर अर्जुन कार्कीले जानकारी दिए।
प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि बुटवल ब्याडमिन्टन क्लबका विवेक न्यौपानेले प्राप्त गरे। विजेता तथा उपविजेतालाई बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले नगद, कप, मेडल तथा ट्रफी प्रदान गरेका थिए।
मेन्स डबलतर्फ प्रथम हुने टोलीले ५१ हजार, दोस्रो हुने टोलीले ४१ हजार र तेस्रो हुने टोलीले ३१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। त्यसैगरी ५५ वर्षमाथिको भेट्रान्स डबलतर्फ प्रथमले २० हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार पाए।
मास्टर भेट्रान्स डबलतर्फ प्रथम हुने टोलीले ३० हजार, दोस्रोले २५ हजार र तेस्रोले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
क्लबका अध्यक्ष नलराज नेपालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शम्भु भट्टराई, तृतीय उपाध्यक्ष भानु केसी र सचिव राजु खरेललगायतले प्रतियोगिताबारे जानकारी गराएका थिए।

