बुटवल :- पछिल्ला राजनीतिक आन्दोलन, विरोध प्रदर्शन र बन्द–हड्तालका तरंगबीच केही जेनजी उमेरका युवाहरूले “देश उफ्रिने भीडले होइन, सिर्जना र श्रम गर्ने पुस्ताले बन्छ” भन्दै तीव्र असन्तोष व्यक्त गरेका छन्।
युवाहरूको भनाइअनुसार आस्ती ‘घण्टी’ भन्दै उफ्रिनेहरूको भीड हिजो ‘जेनजी’ को नाममा सडक तताउँदै देश जलाउने काममा लागेको थियो। अहिले त्यही समूह एमालेको नारामा उफ्रिरहेको भन्दै उनीहरू आक्रोशित देखिए। उनका अनुसार, आगामी केही दिन राजावादी आन्दोलन चलेकै खण्डमा यही भीड फेरि “हामी त कट्टर राजावादी” भन्दै उफ्रन तयार हुने प्रवृत्ति देखिन्छ।
यी समूहप्रति असन्तुष्टि व्यक्त गर्दै एक जेनजी युवाले भने—
“यीलाई देश, नीति, भविष्य—कुनै शब्दको अर्थ छैन। जहाँ अवसर भेट्यो त्यतै दुगुर्छन्। यिनको स्थिरता शून्य, चरित्र हावा जस्तै।”
उनीहरूको आरोप छ कि वास्तविक सिर्जनशील युवापुस्ता ऋण–घन गरेर उद्यम चलाइरहेका छन्, १५–२० जनालाई रोजगारी दिँदै देशमै केही गर्न खोजिरहेका छन्। तर, उफ्रिने भीड भने बन्द, हड्ताल, डर–त्रास सिर्जना गर्ने र काम गर्ने वातावरण बिगार्ने काममै सीमित देखिन्छ।
“बाउको पैसामा मच्चिनेहरूलाई पसिना, उद्यम, संघर्षको मूल्य कहाँ बुझिन्छ?” एक युवाको गुनासो छ।
अर्को आरोप के लगाइन्छ भने यस्तो भीड कहिले एमाले, कहिले रास्वपा, कहिले माओवादी, फेरि कहिले जेनरेसन–जेड—जता भीड, त्यहीँ अवसर खोज्दै लाग्ने प्रवृत्ति देखिन्छ।
युवाहरू भन्छन्— “यिनीहरू अवसरवादी भीड हुन्। न दिशा छ, न विचार।”
अन्त्यमा उनीहरूले चेतावनीसहित भने,
“नेपाल बन्द कहिल्यै कसैको हितमा हुँदैन। देश उफ्रिनेहरूबाट होइन, सिर्जना गर्ने, बोझ बोक्ने, काम गर्ने पुस्ताबाट बन्छ।”

