बुटवल:- बुटवल क्षेत्रमा पहिलो पटक अत्याधुनिक DTF (Direct to Film) प्रिन्ट मेसिन सञ्चालनमा आएको छ। वसन्त चन्द, विमल खत्री, जीवन थापा र विशाल भारतीको संयुक्त लगानीमा स्थापना गरिएको PrintOra ले शनिबारदेखि आफ्नो सेवा औपचारिक रूपमा शुभारम्भ गरेको हो।

बुटवलमा व्यवसाय गरिरहेका युवा उद्यमीहरूले स्थानीय बजारको आवश्यकता र DTF प्रिन्टिङ सेवाको बढ्दो मागलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधिसहितको मेसिन सञ्चालनमा ल्याएको बताएका छन्। यस सेवाबाट अब टी–सर्ट, जर्सी, हुडी, क्याप, ब्यागलगायत विभिन्न कपडाजन्य सामग्रीमा उच्च गुणस्तरको प्रिन्ट स्थानीय स्तरमै सहज रूपमा उपलब्ध हुने विश्वास गरिएको छ।

उद्यमीहरूका अनुसार यसअघि यस्ता प्रिन्टिङ सेवाका लागि अन्य शहरमा निर्भर हुनुपर्ने अवस्था रहेकामा अब बुटवलमै छिटो, गुणस्तरीय र प्रतिस्पर्धी मूल्यमा सेवा उपलब्ध हुनेछ। यसले स्थानीय व्यवसाय, गार्मेन्ट उद्योग, विज्ञापन एजेन्सी तथा व्यक्तिगत ग्राहकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

बुटवल उपमहानगरपालिका–७, दिपनगरस्थित हिलपार्क गेटदेखि करिब ३०० मिटर दक्षिणमा रहेको PrintOra को उद्घाटन कार्यक्रममा व्यवसायी, शुभेच्छुक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले नयाँ व्यवसायको सफलताको शुभकामना व्यक्त गर्दै यसले स्थानीय उद्यमशीलता, रोजगारी सिर्जना तथा आधुनिक प्रिन्टिङ उद्योगको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।

