काठमाडौं : रसुवाको भोटेकोशी नदीमा पुनः बाढीको जोखिम देखिएको छ। नदीमा लेदोसहित पानीको बहाव बढ्न थालेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी र त्रिशूली नदी किनारमा रहेका सर्वसाधारणदेखि उद्धार तथा राहतमा खटिएकासम्मलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार १० भदौमा ठूलो बाढी आएको भोटेकोशी नदी क्षेत्रमा शुक्रबार पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको छ। बहावमा आएको परिवर्तनसँगै थप बाढी आउन सक्ने जोखिम देखिएको प्राधिकरणले जनाएको छ।
यसअघि नै बाढीबाट प्रभावित क्षेत्रमा उद्धार र राहतको काम चलिरहेका बेला नदीमा फेरि लेदोसहितको बहाव बढेको खबर आएपछि जोखिम थपिएको हो।

प्राधिकरणले विशेषगरी भोटेकोशी तथा त्रिशूली नदी किनारमा उद्धार तथा राहतमा खटिएका व्यक्ति र विभिन्न कारणले जोखिमयुक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सचेत रहन भनेको छ।
जोखिम बढेको महसुस भए वा नदीको बहाव अस्वाभाविक देखिए तत्काल सुरक्षित स्थानतर्फ जानसमेत आग्रह गरिएको छ।
प्राधिकरणका प्रवक्ता तथा उपसचिव शान्ति महतले शुक्रबार जारी गरेको सूचनामा सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेकी छन्।
प्राधिकरणले नदीको बहावमा देखिने परिवर्तनलाई सामान्य रूपमा नलिन, नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नबस्न र सम्बन्धित निकायबाट जारी हुने सूचनालाई पालना गर्न आग्रह गरेको छ।
पछिल्लो समय माथिल्लो तटीय क्षेत्रमा भएको प्राकृतिक प्रकोपका कारण भोटेकोशी र त्रिशूली नदी प्रणालीमा बहाव परिवर्तन हुने जोखिम बढेको छ। त्यसैले नदी किनारका बस्तीमा बसोबास गर्ने नागरिकलाई समेत अवस्थाबारे नियमित जानकारी लिँदै सुरक्षित रहन भनिएको छ।

