काठमाडौं :- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति छानबिनका लागि गठन गरिएको आयोगलाई आफूले मान्यता नदिने बताएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले आयोगलाई राजनीतिक पूर्वाग्रहका आधारमा गठन गरिएको आरोप लगाउँदै आफू त्यससमक्ष बयान दिन नजाने र सम्पत्ति विवरण समेत नबुझाउने बताए।
‘यस्ता आयोगलाई हामी मान्यता दिँदैनौं । अरु कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ । त्यसमा सम्पत्ति विवरण भरेर पठाइदिनँ,’ ओलीले भने।

उनले आयोग विपक्षीलाई लक्षित गरी गठन गरिएको दाबी गर्दै राज्य संयन्त्र प्रतिशोधको भावनाबाट प्रेरित भएको आरोप लगाए।
‘यो राज्य होइन, पूर्वाग्रहको पोको हो । प्रतिशोधको पोको हो । विपक्षीलाई फसाउन यस्ता क्रियाकलाप गरिएको छ,’ उनले भने।
सम्पत्ति विवरणसम्बन्धी प्रश्नमा ओलीले आफ्नो घरमा भएको आगजनी घटनाको प्रसंग उल्लेख गर्दै सम्पत्ति नै नष्ट भइसकेको दाबी गरे।
‘मेरो सम्पत्ति त खरानी भइसक्यो । सम्पत्ति विवरण चाहिएको छ भने खरानी नै उठाएर लैजाओस् सरकार,’ उनले व्यंग्य गर्दै भने।
ओलीको अभिव्यक्तिपछि आयोगको वैधानिकता, अधिकार क्षेत्र र राजनीतिक उद्देश्यबारे नयाँ बहस सुरु भएको छ। आयोग र सरकार पक्षबाट भने ओलीको भनाइबारे औपचारिक प्रतिक्रिया आएको छैन।

