गुल्मी :- गुल्मी जिल्लामा पछिल्लो चार वर्षको अवधिमा १४२ जना शिक्षकहरूले राजीनामा दिएका छन्। चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म मात्रै १८ जना शिक्षकले पदबाट राजीनामा दिएका छन्।
शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका शाखा अधिकृत पुष्पा रायमाझीका अनुसार चालु आर्थिक वर्षमा प्राथमिक तहका १४ जना, निम्न माध्यमिक तहका तीन जना र माध्यमिक तहका एक जना गरी कुल १८ जनाको राजीनामा स्वीकृत भएको छ।

पछिल्लो समय वैशाख १० गतेदेखि लागू हुने गरी इस्मा गाउँपालिका–४ स्थित चन्द्र आधारभूत विद्यालयमा प्राथमिक द्वितीय तहमा अध्यापन गराउँदै आएका शिक्षक नारायणप्रसाद भण्डारीको राजीनामा स्वीकृत गरिएको इकाईले जनाएको छ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/०८० मा प्राथमिक तहका ३७ जना र निम्न माध्यमिक तहका एक जना गरी ३८ जनाले राजीनामा दिएका थिए। आर्थिक वर्ष २०८०/०८१ मा प्राथमिक तहका ४६ जना र निम्न माध्यमिक तहका ६ जना गरी ५२ जनाको राजीनामा स्वीकृत भएको थियो।

यस्तै आर्थिक वर्ष २०८१/०८२ मा प्राथमिक तहका २९ जना, निम्न माध्यमिक तहका दुई जना र माध्यमिक तहका तीन जना गरी ३४ जनाले पद छाडेका थिए। चालु आर्थिक वर्षमा थप १८ जनाको राजीनामा स्वीकृत भएसँगै चार वर्षमा कुल संख्या १४२ पुगेको हो।
शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका अनुसार जिल्लामा सामुदायिक, संस्थागत र प्राविधिक धारतर्फ गरी ५६५ विद्यालय सञ्चालनमा छन्। ती विद्यालयमा ५९ हजार ५३० विद्यार्थी अध्ययनरत छन्।
जिल्लाभर बालशिक्षादेखि कक्षा १२ सम्म राहत र दरबन्दीतर्फ गरी २ हजार ९२६ शिक्षकको दरबन्दी रहेको कार्यालयले जनाएको छ। शिक्षकहरूको बढ्दो राजीनामाले जिल्लाको शैक्षिक व्यवस्थापनमा चुनौती थपिएको सरोकारवालाहरूले बताएका छन्।

